न भित्र खोक्रो न बाहिर बोक्रो गुलियो कसार
पुरवै ढोका उघारी हेर्दा लागेछ असार
असारलाई भनी कुटेका चिउरा म कति साँचुला
सौताका हात दुई कुड्की भात म कति बाँचुला
छुपुमा छुपु धान है रोपूँ, हातको बीऊ छउन्जेल
भलै र खाउँला भलै र लाउँला बाबाको जिउ छउन्जेल
असारमा खाने दुधिला मकै साउनमा खाने खीर
घरमै छैन शितलु वचन, मनैमा सधैँ पीर
असार लागेसँगै गाँउघरमा धान रोपनको माचामाच छ। नेपालमा विशेष गरी असार महिनामा धान रोप्ने गरिन्छ। सिंचाईको सुविधा, कहीँकतै आकाशे पानीको भर पर्नुपर्ने भएकोले कतै जेठ महिना त कतै साउन भदौसम्म पनि रोपाईं हुने गर्दछ। कृषकलाई यो समयमा भ्याइनभ्याई हुन्छ। बूढापाकाकाे भनाइलाई आधार मान्ने हाे भने यो समय मुर्दा (लास)लाई छोपेर पनि काम गर्ने बेला हो रे। माना रोपेर मुरी उब्जाउने महिनाको रुपमा पनि यो समयलाई लिइन्छ।
पहिले–पहिले नेपाली समुदायमा रोपाईंलाई विशेष पर्वको रुपमा मनाइन्थ्यो। हल गोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापछ्याप गरी हिलो खेलेर असारे गीत गाउने चलन थियो। असारे भाकामा प्रेम, वियोग, पीडा, व्यथाका साथै हास्य रस पाइन्थ्यो। गीतको भाकामार्फत आपसमा माया पिरती साट्ने गर्दथे।
जनकेशरी धर्मराज थापाले गाएको गीत सम्झनामा आँउछ, ‘हरियो डाँडामाथि, हलो जोत्ने साथी, हो हो माले हो हो, हो हो तारे होहो…..’ पछिल्लो समय आधुनिक गीत, संगीतको नक्कलले यस्तो परम्परा हराउँदै गएको छ। युवा पुस्ता विदेश पलायन हुने क्रम बढ्दै जाँदा कृषि पेसा अंगाल्नेको संख्यामा कमी आएको छ। पढेलेखेका व्यक्तिले खेतबारीको काम नगर्दा पनि कृषिमा लगानी कम हुँदै गएको छ।
पहिले चामलको भात खानु प्रतिष्ठाका कुरा थियो। भात खानकै लागि पहाडी जिल्लाबाट चितवन झर्थे अरे। साहु महाजनको घरमा मात्र भात पाक्छ भन्ने थियो। अझ रमाइलो प्रसङ्ग त के छ भने हाम्रो घरमा पनि भात पाक्छ भनेर सुनाउन एक कलो भात लिएर चे….. चे….. भन्थे रे। धान, चामल हाम्रो चाडपर्व रितिरिवाजसँग पनि जोडिएको छ।
असार पन्ध्रलाई सांस्कृतिक पर्वको रुपमा पनि मनाइने गरिन्छ। यस दिन हिलो टेक्नुपर्छ भन्ने मान्यता छ। हिलो खेल्दा चर्मरोग निको हुने पनि जनविश्वास छ। रोपाईं गरेर सकेको अवस्थामा पोषिलो र शितलता प्रदान गर्न दही चिउरा र अचारलाई खाजाको रूपमा खाने गरिन्छ। पछिल्लो समय रोपाईं नै नरहे पनि पन्ध्र असारमा घरघरमा, आफू कार्यरत कार्यालयमा पनि दही चिउरा खाएर रमाइलो गर्ने गरिन्छ। असार पन्ध्रलाई नेपाल सरकारले औपचारिक रुपमा ‘धान दिवस’ मनाउने घोषणा गरेसँगै विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ।
हिलोमा विभिन्न खेल पनि खेलाउने गरिन्छ। अचेल फेसबुकमा फोटो पोष्ट्याउनका लागि मात्रै भए पनि हिलोमा जाने गरेको देखिए पनि खेती गर्नुको दुःख किसानले मात्र महसुस गर्न सक्दछन्। भनेको समयमा पानी नपर्नु, सिंचाई, मल बीऊको अभाव, समयमा खेताला नपाउनु, बालीमा रोग लाग्नुजस्ता समस्याले पिरोल्छ। आजकल गोरु पाल्न पनि छाडिसकेका छन्। पहिले–पहिले जस्तै अर्म–पर्म गर्ने चलन पनि करिबकरिब हराइसक्यो भन्दा पनि फरक नपर्ला। केही मात्रमा प्राविधिक र व्यावसायिक रुपले खेती शुरु भएको छ। तर स्थानीय जातका धानहरु लोप हुँदैछन् भने धान खेतको क्षेत्रफल पनि घट्दै गएका छन्।
कृषि ज्ञान केन्द्रको तथ्याङ्क नै हेर्ने हो भने पनि धान खेतीको उर्वर भूमीको रुपमा चिनिएको चितवनमा पछिल्लो समय करिब ३० हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती हुने गरेको देखिन्छ। पछिल्लो समय भू–खण्डिकरणको समस्या, बढ्दो विषादीको प्रयोग, माछा, केरालगायत अन्य खेतीबालीप्रति किसानको आकर्षण बढ्नुले पनि धान खेतीमा बिस्तारै कमी आउन थालेको ज्ञान केन्द्रका प्रमुख राजन ढकाल बताउँछन्।
गतवर्ष गरिमा जातको धानबाट पीडित भएका कारण पनि किसानमा निराशा छाएको छ। अहिले फेरि चैते धानमा पनि विभिन्न खालका रोग लाग्न थालेपछि किसान थप चिन्तित बनेका छन्। अहिले हामी जुन परिस्थितिमा गुज्रिरहेका छौं, अब हामी सबैले बुझ्नु पर्ने कुरा के हो भने कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिकमुखी कसरी बनाउने, कृषिमा लगानी कसरी गर्ने र गरेको लगानी कसरी सुरक्षित गर्ने भन्ने विषयमा चिन्तन गर्नु आवश्यक छ।
अन्त्यमा, पछिल्लो समय मानिसले नै प्रयोग गरेको बिषादीका कारण विभिन्न खालका प्राणघातक रोगको संक्रमण निम्तिन सक्ने जोखिम पनि उत्तिकै मात्रामा बढ्दै गएकोले अब हामी सबैले प्राङ्गारिक अर्थात् विषादीरहित खेती गरौं, स्वस्थ्य रहौं।


























