चितवन । बिहानैदेखि अवरूद्ध मुग्लिन नारायणगढ सडक खुलाउन अझै पनि कम्तिमा पाँच घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। इच्छाकामना ६ चारकिलोमा पहिरो खस्दा बिहान ४ बजेदेखि बाटो अवरुद्ध बनेको छ। बाटोको दुवैतर्फबाट पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। ‘तर, पहिरो हटाएर बाटो खुलाउन अझै पनि पाँच घण्टा त कम्तिमा लाग्छ होला,’ उनले भने, ‘त्यसैले यात्रामा निस्कनुभएका महानुभावहरूलाई अहिलेको समय बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोला भन्न चाहन्छु।’
मुग्लिन नारायणगढ सडकखण्डमा वर्षा लागेसँगै पहिरो खस्ने क्रम पनि सुरू हुन्छ। पछिल्लो समय उक्त सडकको स्तरोन्नति गरेपछि भने पहिरो खस्न सक्ने सम्भावित क्षेत्रमा जाली लगाएर पहिरो रोक्ने प्रयास भइरहेका छन्। केही स्थानमा लगाइसकेका छन् भने केही स्थानमा लगाउने क्रम जारी छ। जोखिमयुक्त स्थानमा जाली लगाउने काम सकिएपछि भने पहिरोको जोखिम कम हुने अपेक्षा लिइएको छ। यसअघि पनि लकडाउनकै अवधिमा कालीखोला आसपासको क्षेत्रमा पहिरो खसेको थियो। अहिले पनि जलवीरे आसपासको क्षेत्रमा सानोसानो ढुंगा झरिरहेको मुग्लिन प्रहरीले जनाएको छ।


























