काठमाडौं, असार १ । जनता समाजवादी पार्टी (जसपा) ले सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने भएको छ। संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमानेपछि जसपाले गिरीलाई हटाउने भएको हो।
लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन्। उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।
सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए। गिरीलाई सांसद पदबाट हटाउने र पार्टीको सदस्य समेत नरहने गरी कार्बाही गर्ने जसपाले जनाएको छ। चाँडै नै बैठक राखेर गिरीलाई हटाइने जसपाका एक नेताले बताए।
नेपाली कांग्रेसबाट राजनीति थालेकी गिरी कुनै समय सद्भावना पार्टी ९आनन्दीदेवी० का अध्यक्ष समेत बनिन्। तर, पार्टी आधिकारिकताको विवादले लगातार क्षति भइरह्यो।
नेपाल सद्भावना पार्टीका तत्कालीन अध्यक्ष बद्री मण्डल राजाको मन्त्रिमण्डलमा गएपछि फुट सुरु भएको थियो। संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह पत्नी आनन्दीदेवी सिंहलाई अध्यक्ष बनाएर भरतविमल यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठीलगायतले सद्भावना पार्टी फुटाए। पार्टीको सुरुवातदेखिको चुनाव चिन्ह हात यही पार्टीले पायो। नेपालमा पहिलोपटक औपचारिक रुपमा संघीयताको माग यही दलले गरेको थियो।
तर, यो दल पनि पटक पटक विभाजित भयो। सद्भावना नामपछि फुर्को जोडेर पार्टी खोलियो। यही क्रममा सरिता गिरी र राजेन्द्र महत्वले आफ्नै अध्यक्षतामा दुई वटा सद्भावना बनाएपछि आधिकारिकता विवाद भएको थियो। २०७० सालमा सर्वोच्च अदालतले गिरी नेतृत्वको पार्टीलाई मान्यता दिएपछि चुनाव चिन्ह हात उनैको दलले पायो।
उता अनिल झाले राजेन्द्र महत्वबाट छुट्टिएर संघीय सद्भावना फोरम बनाएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा राजेन्द्र महतोको दलले ६ र अनिल झाको दलले एक सिट जित्दा गिरीको दल शून्य सिटमा पुग्यो।
तर, उनले झाको पार्टीसँग एकीकरण गरेपछि हात चुनाव चिह्न उतै पुग्यो। झा अध्यक्ष र गिरी सहअध्यक्ष भए। गिरी अनिल झाको पार्टीबाट पनि बाहिरिइन्। २०७४ सालमा उनी उपेन्द्र यादवको दल संघीय समाजवादी फोरममा प्रवेश गरिन्।
उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकृत भएपछि गिरीको राजनीति उठेको थियो। संघीय समाजवादी पार्टीले गिरीलाई खसआर्य महिला कोटामा समानुपातिक सांसद बनाएको थियो।


























