चितवन, जेष्ठ ३१ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिने भएको छ। भरतपुर महानगरपालिकाले स्थापना गरको कोरोना अस्पतालको व्यवस्थापन वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्दै आएको छ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई आजै भरतपुर अस्पताल सारिने छ। कोरोना अस्पतालको शौचालयमा समस्या देखिएको छ भने पङ्खालगायतको मर्मतसम्भार गर्नुपर्ने भएको छ। सङ्क्रमित भएको ठाउँमा मर्मतसम्भारको काम गर्न नमिल्ने भएकाले सङ्क्रमित सार्न लागिएको हो। सो ठाउँलाई निर्मलीकरण गरेर मर्मतसम्भारपछि सङ्क्रमित राखिने छ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार भरतपुर अस्पतालको हाडजोर्नी र सर्जरी विभागका सङ्क्रमितलाई स्थानान्तरण गरिँदैछ। हाडजोर्नीकालाई स्पाइनल र सर्जिकललाई मेडिकल वार्डमा सारेर ठाउँ खाली गरिएको छ। ती दुई वार्ड र क्याविनमा ६५ सङ्क्रमित राख्न सकिने तिवारीले जानकारी दिए।
अस्पतालले कोभिड–१९ का लागि १० श्ययाको सघन उपचारकक्ष तयारी अवस्थामा राखेको छ। सङ्क्रमित अरु थप भएमा विभाग खाली गर्दै लगिने उनले जानकारी दिए। हाल भरतपुर अस्पतालमा रहेका नौमध्ये आज दुई घर फर्किँदैछन्। यस्तै कोरोना अस्पतालका २२ मध्ये चार डिस्चार्ज भई १८ जना भरतपुर अस्पतालमा सारिने उनले बताए। माडीमा शुक्रबार सङ्क्रमण पुष्टि भएकामध्ये ज्वरो आएका एक जनालाई भरतपुर अस्पताल ल्याइएको छ भने अन्यलाई माडीकै बघौडा अस्पतालको आइसोलेसनमा राखिएको छ। रासस


























