काठमाडौं, जेष्ठ २८ । मन्त्रिपरिषद्को बैठक ५ बजेलाई सरेको छ। यसअघि दुई बजेलाई तय भएको बैठक साँझ पाँच बजेलाई सरेको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीवन सहज बनाउन लकडाउनको मोडालिटी हेरफेर गरिने संकेत अघि नै सदनमा गरिसकेका छन्।
उनले लकडाउनलाई कायमै राखिने र जनजीवन सहज बनाउन मोडालिटी हेरफेर गरिने बताएका थिए।
स्रोतका अनुसार सरकारले पाँच चरणमा लकडाउन खोल्ने प्रस्ताव तयार पारेको छ। कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले पाँच चरणको प्रस्ताव तयार पारेको छ।
मन्त्रिपरिषद्लाई यसअघि नै उपलब्ध गराएर प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरिएको प्रस्तावमा पाँच चरणमा लकडाउन खोल्न सकिने बताइएको छ।
सीसीएमसीले प्रस्ताव गरेको मोडालिटी, जसलाई उनीहरूले जर्जिया मोडालिटी भनेका छन्, त्यसमा पहिलो चरणमा असार १ गतेदेखि निजी कार, एवम् ट्याक्सी सेवा, डेलिभरी सर्भिस, ओपन एयर मार्केट, कृषि क्षेत्र खुला गर्न प्रस्ताव गरिएको छ।
स्रोतका अनुसार ४० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुरु गर्न सकिने सीसीएमसीको मोडालिटी छ।
दोस्रो चरण असार १५ गतेदेखि निर्माण क्षेत्र खुला गर्न प्रस्ताव गरिएको छ। दोस्रो चरण नाम दिएको यो अवधिमा निर्माण सामग्रीको उत्पादन, कार वास सेन्टरहरू, अटो सर्भिससँग सम्बधित सम्पूर्ण सेवा सुचारु गर्न सकिने सीसीएमसीको प्रस्ताव छ।
तेस्रो चरण, असार २९ गतेदेखि सपिङ मलबाहेकका खुद्रा एवम् होलसेल, प्रकाशन गृहहरू, खुला बजार क्षेत्र, भृकुटी मण्डप, कालिमाटी तरकारी बजार जस्ता स्थानहरू पूर्णतः खुला गर्न सकिने प्रस्ताव छ।
चौथो चरण, साउन १२ गतेदेखि सपिङ मल, रेस्टुराँ, बैंक, एवम् वित्तीय सेवा, ब्युटि सैलुन आदि खोल्न प्रस्ताव गरिएको छ।
पाँचौं चरण, साउन २६ गतेदेखि क्याटरिङ, पार्टी प्यालेस, धार्मिक क्षेत्र, अनसाइट रेस्टुराँ एवम् होटलसँग जोडिएका सेवा क्षेत्र खोल्न प्रस्ताव गरिएको सीसीएमसी स्रोतले बताएको छ।
त्यसपछि संक्रमणको लकडाउनलाई अन्त्य गर्न सुझाव दिइएको छ। तत्पश्चात् मनोरञ्जन, खेल, होटल र शैक्षिक संस्था खुला गर्न प्रस्ताव गरिएको सीसीएमसीका एक सदस्यले जानकारी दिए।
मन्त्रिपरिषद्ले यही प्रस्तावलाई आज कार्यरूप दिने सीसीएमसी स्रोतले बताएकोछ।


























