चितवन, जेष्ठ २६ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चितवन ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै। चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन्।
२०७३ मा आरक्षबाट १२ वटा र जावलाखेल चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएका थिए। त्यतिबेला तीन भाले र १२ पोथी ल्याइएका हुन्। त्यही वर्ष आएको बाढी अर्ना राखिएको क्षेत्रमा पसेपछि केहीलाई बगाएको थियो भने बचेका अर्ना बिरामी परेका थिए। त्यसै वर्ष १५ मध्ये ६ वटा मरेका थिए। चिडियाखानाका सबै र कोशी टप्पुबाट ल्याइएका तीनवटा मरेका थिए। चारवटा बच्चा थपिएर हाल सो क्षेत्रमा १३ वटा अर्ना रहेका छन्। तीमध्ये सातवटा माउ पोथी र दुईवटा भाले माउ रहेका छन्। पछि जन्मिएका बच्चामध्ये तीनवटा भाले र एउटा पोथी छ।
चार वर्ष बितिसक्दा सातवटा पोथीबाट चारवटा बच्चामात्र जन्मिएका छन्। तत्कालीन समयमा पाँच भालेसहित २५ अर्ना ल्याउने भनिएको भए पनि ल्याउन सकिएको छैन।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार कोशीका जस्ता मोटा हुन नसके पनि स्वस्थ रहेका छन्। खुल्ला नछाडिएकाले पनि मोटा हुन नसकेको हुनसक्ने उहाँको भनाई छ। भर्खरका उमेरका भएको र वातावरण फरक पर्नु अर्को कारण हुनसक्ने श्रेष्ठ बताउँछन्। नियमित दाना दिइएको, औषधोपचार भइरहेको भन्दै उनले राखिएको क्षेत्रफल बढेपछि केही फरक आउन सक्ने बताए। उनले ती अर्ना कोशी टप्पुका जस्ता नभएर घरमा पालेका भैँसीजस्ता देखिएको जानकारी दिए। अहिले पनि केही अर्ना ब्याउने भएकाले बिस्तारै सङ्ख्या बढ्दै जाने उनको भनाई छ।
निकुञ्जको पूर्वी क्षेत्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले खुला ठाउँमा बथानमा कुद्ने, चर्ने र कोशी नदीमा खेल्ने अर्ना यहाँ खुल्ला खोरमा रहेकै कारण त्यहाँको जस्तो मोटा हुन नसकेको बताए। उनले भने, ‘तर पनि त्यस्तो दुब्ला छैनन्।’ बसिरहेको ठाउँ फरक हुँदा पनि मोटाउन नसकेको उनको भनाई छ। ती अर्नामा बाढीका कारण रोग देखिएपछि बचाउनै कठिन भएको थियो। थप अर्ना ल्याउन भने नसकिएको उनको भनाई छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार हाल भइरहेको खोरलाई करिब १५ हेक्टर थप गरी पानी र घाँसको प्रबन्ध गर्न लागिएको छ। यसअघि अर्ना राख्नका लागि ३० हेक्टरमा तारबार गरी व्यवस्थापन गरिएको छ। घोल थुनेर पानी ल्याउने तयारी गरिएको छ। यी जनावरलाई पानीमा खेल्नुपर्ने भएकाले थोरै पानीले नपुग्ने भन्दै उनले पानी र घाँसको प्रशस्त व्यवस्था गर्ने तयारीमा आफूहरु लागेको बताए। खुला परिवेशमा खेलेको, खाएकोजस्तो थुनेको ठाउँमा सम्भव नहुने उनको भनाई छ।
कम्तिमा ५० वटा बनाएर बथानमा छोड्न सकेमा बच्न सक्ने उनले बताए। कोशी टप्पुमा बाघ नभएको तर यहाँ बाघ भएकाले बच्नका लागि राम्रो बथान जरुरी रहेको रुपाखेती बताउँछन्। अहिले भएको ठाउँ उपयुक्त भए पनि सर्वयुक्त नभएको भन्दै राम्रो बनाउन आफूहरु लागि परेको बताए। रासस


























