काठमाडौं, जेष्ठ २३ । कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।
प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको हो।
संक्रमितहरु दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछाप, गोरखा, सुर्खेत र जाजरकोट स्थानीय ठेगाना भएका व्यक्तिहरु हुन्। संक्रमितहरु ३ जना महिला, २ जना ४ वर्ष उमेरका बालकहरु सहित ५० वर्ष उमेर सम्मका पुरुषहरु छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८९ पुगेको छ।



























