चितवन, जेष्ठ २३ । चितवनको दक्षिण माडी बाँदरमुढेमा तत्कालीन माओवादीले यात्रु बसमा गराएको विष्फोटको घटना भएको १५ बर्ष पुगेको छ।
तर यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले अझैसम्म उचित न्याय पाउन सकेका छैनन्।
बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिले पटक-पटक न्यायका लागि पहल गरेपनि प्रतिबद्धता अनुसारको काम नभएको गुनासो पीडितहरुले गर्दै आइरहेका छन्।
घटना भएको जेठ २३ गते १५ बर्ष पूरा भएपनि न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताएका छन्।
तत्कालीन माओवादीका नेतृत्व पुष्पकमल दाहाल अहिले सो क्षेत्रको सांसद समेत रहेका छन्। संसदीय निर्वाचनका क्रममा दाहालले २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसंग गरेका सहमती अझै लागु हुन सकेको छैन।
मृतकका आश्रृत परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृती र बालबालिकालाई पढाइ दिने सहमती भएको थियो।
विसं २०६२ जेठ २३ गते बाँदरमुढे घटनामा परी ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए।
अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ आउँदै गरेको ना २ ख ३२४५ नंको बसमा माओवादीले बम विस्फोट गराएका थिए।


























