काठमाडौं, जेष्ठ १२ । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएको ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितपुरमा बस्नेतले पुष्टि गरे।
‘उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो। उहाँमा कोरोना संक्रमण भएको आशंकामा शव संकलन भएकोमा आज पोजेटिभ रिपोर्ट प्राप्त भएको छ’ उनले भने, ‘उहाँ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ।’
कोरोनाको रिपोर्ट आउन किन ८ दिन लाग्यो भन्नेबारे राखिएको जिज्ञासामा उनले नारायणी र काठमाडौंमा दुई तिर परीक्षण गर्दा ढिलाइ हुन पुगेको बताए। ‘यता नारायणीमा निकै चापले दुई तीन दिन लाग्यो। त्यहाँ शंकास्पद नतिजा देखिएपछि काठमाडौंमा पुनःपरीक्षण गराउँदा रिपोर्ट ढिलागरी प्राप्त भयो’।
यससँगै नेपालमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ४ पुगेको छ। यसअघि कोरोनाको कारण सिन्धुपाल्चोक, बाँके र गुल्मीमा गरी ३ जनाको मृत्यु भइसकेको छ।
यसबारेमा भने मन्त्रालयले केही जानकारी दिएको छैन। उनको अन्त्यष्टी समेत गरिएको छ।


























