वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट चार महिने शिशुसहित एकै परिवारका १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। दुई पटकसम्मको स्वाब परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि आइतबार राति डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए। डिस्चार्ज हुनेमा ७ महिला र ११ पुरुष रहेका उनले बताए। वीरगन्ज महानगरपालिका वडा नम्बर ३ मा बसोबास गर्दै आएका उनीहरूलाई राति करिब ११ बजेतिर डिस्चार्ज गरिएको हो।
गत बैशाख २१ गते एकै परिवारका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण देखिएको हो। डा उपाध्यायका अनुसार बैशाख २४ मा ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनाको स्वाब परीक्षण गर्दा सबैमा कोरोना पोजेटिभ देखिएको थियो।
यसअघि शनिबार पनि नारायणी अस्पतालको आइसोलेसन वार्डबाट पर्सा, बारा र रौतहटका गरी ९ जना संक्रमित डिस्चार्ज भएका थिए। यसरी एकै परिवारका १८ जना संक्रमित निको भएर घर फर्किएपछि देशभरबाट निको हुनेको संख्या १०५ पुगेको छ। आइतबार थप १९ जनामा काेराेना संक्रमण पुष्टि भएपछि नेपालमा हालसम्म ४१ जिल्लामा गरी ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको छ।


























