काठमाडौं । सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो।
संघीय संसदको विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालका अनुसार संविधानको अनुसूची ३ को निशाना छाप संशोधन गर्न प्रस्ताव दर्ता गरिएको हाे। सरकारले लिपुलेक लिम्पियाधुरासहितको नयाँ राजनीतिक नक्सा सार्वजिनक गरेपछि नेपालको निशान छाप परिवर्तनका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरेकाे उनकाे भनाइ छ।
संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धी व्यवस्था छ। संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समावेश गरिने छ।




























