जेष्ठ ८ । अहिले कुनै पनि स्वास्थ्य समस्याले सताएमा तुरुन्तै अस्पताल जाने वा उपचार गर्ने अनुकूलता छैन। अझ सानोतिनो समस्यामा त अस्पताल जानु भनेको सम्भावित जोखिम निम्त्याउनु हो। त्यसैले यतिबेला स्वास्थ्यप्रति थप सचेत र सजग हुन जरुरी छ।
कतिपय अवस्थामा खानपानले हामीलाई बिरामी बनाइरहेको हुन्छ। अहिले गर्मीको समयमा त खानपानमा अरू ध्यान दिनुपर्छ। बासी, सडेगलेको खानेकुराले स्वास्थ्यमा समस्या ल्याउँछ। यो मौसममा खानेकुरा चाँडै सड्ने, गल्ने हुन्छ। झिंगा, साङ्ला आदिले खानेकुरा दूषित बनाइदिन्छ।
अतः यसरी कुनै कारणवश पेटमा खराबी भएको बेला कतिपय खानेकुरा खानु उचित हुँदैन। खासगरी पेटको समस्यामा सुपाच्य वा सादा खानेकुरा उचित हुन्छ। तारेको, भुटेको, मसलेदार, माछामासुले थप समस्या निम्त्याउँछ।
मसालेदार खाना
मसालेदार खाना खानाले पेटमा दुखाई र पेट पोल्ने समस्यालाई अझै गम्भिर बनाउँछ। चिल्लो र धेरै पिरोयुक्त खानेकुरा खानाले पेट दुखेको बेलामा अरु समस्या थप्छ। यसैले मसालेदार खानाको सेवन पेट दुखेको बेलामा नगर्नुहोस्। भुटेको तारेको मासु, चाउमिन, फ्रेन्चफ्राइज जस्ता खानेकुरा खान हुँदैन।
प्रशोधित खाना
प्रशोधित खानामा धेरै रसायन हुन्छन्। साथै यो छिट्टै पच्दैन पनि। पेट दुखेको समयमा प्रशोधित खानेकुरा खानुहुँदैन।
एसिडयुक्त खाद्यपदार्थ
एसिडयुक्त खाद्यपदार्थ जस्तै टमाटर आदिको सेवन नगरौं। यसले तपाईंको पेट दुख्ने समस्यालाई अझै बढाउन सक्छ। त्यसैले यसको सेवन गर्नबाट बच्नुहोस्।
क्याफिनको सेवन
पेट दुखेको बेलामा क्याफिनको सेवन गर्नु हानिकारक हुन्छ। यसैले पेट दुखेको बेला कफीलगायत अन्य क्याफिनयुक्त पेय पदार्थ सेवन नगर्नुहोस्।
उच्च फाइबरयुक्त खाद्यपदार्थ
धेरै फाइबर युक्त खानाको कारण धेरै दिसा लाग्ने समस्या निम्तन सक्छ। यसैले पेट दुखेको बेलामा उच्च फाइबरयुक्त खानेकुराको सेवनबाट बच्नुपर्छ।























