चितवन, जेष्ठ २ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ। जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ। अत्यावश्यक सवारी साधन मात्र चलेका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार नारायणी पुलबाट एक प्रदेशसभा सदस्यलाई समेत फिर्ता गरिएको छ। सवारी अनुमतिपत्र नलिइ आउनुभएका उहाँलाई सम्झाएर पठाइएको हो। उनले भने, “अत्यावश्यकबाहेक कसैलाई पनि जिल्ला छिर्न दिइएको छैन।” यसै जिल्ला हुँदै राजधानी प्रवेश र बाहिरिनेको सङ्ख्या बढी हुने गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार भीडभाड नगरी बैंक सञ्चालन गर्न दिइएको छ। भीड भएका बैंक तत्काल वन्द गर्न लगाइएको छ। दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकारका सवारी साधन चलेका छन्। औषधि, दूूध, तरकारी र खाद्यान्न ढुवानीका सवारीसाधनलाई मात्र चल्न दिइएको उहाँले जानकारी दिए।
यससँगै स्थानीय प्रशासनले अनुगमनमा तीव्रता दिएको छ। अटेर गर्नेलाई कारवाही गरिएको छ। सवारी जाँच बढाएसँगै आवतजावत पनि घटेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका नायब प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार बिहीवार बिना अनुमति हिँडडुल गर्ने ३८ सवारी साधन र १५ जनालाई नियन्त्रणमा लिइएको थियो। व्यक्तिहरुलाई छाडिएको छ भने सवारी साधन प्रहरीले राखेको छ। लकडाउन शुरु भएयता जिल्लामा एक हजार १८८ सवारी साधन नियन्त्रणमा लिइ कारवाही गरिएको छ। रासस


























