काठमाडौं, जेष्ठ २ । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज (शुक्रबार) सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ।
शुक्रबार अपराह्न ४ः०० बजेका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसदमा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो। यसवर्षको नीति तथा कार्यक्रम कोरोना महामारीपछिको अर्थतन्त्र पुनरुत्थानमामा केन्द्रित रहेको बताइएको छ।
विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित रहेको अर्थ मन्त्रालय श्रोतले बताएको छ।
कोरोना महामारीपछिको अर्थतन्त्र उकास्नका लागि कृषि र स्वास्थ्यमा विशेष जोड दिइएको हो। वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई कृषिमा लगाएर उनीहरुलाई रोजगार उन्मुख बनाउने नीति सरकारले लिएको छ।
यसका साथै अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आर्थिक वर्षको कार्यक्रममा समेत समेटिने अनुमान गरिएको छ।
संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ।


























