चितवन, जेठ १ । ‘दिन दुई गुना, रात चौगुना’ भनेजस्तै नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि चितवन जिल्लामा पिसिआर परीक्षण गर्नेहरूको संख्या बढेको छ। अस्पतालले धान्नै नसक्ने गरी परीक्षण गर्न आउनेको संख्या बढेपछि भरतपुर अस्पतालले पछिल्लो वैज्ञानिक निर्देशनअनुसार मात्रै परीक्षण गर्ने निर्णय गरेको छ। कोरोना परीक्षण गर्ने भन्दै जथाभावीरूपमा दबाब आउने र सोहीअनुसार परीक्षण गर्नेको चाप बढेपछि भरतपुर अस्पतालले बिहीबार साँझ चितवन र नवलपुरका स्वास्थ्य कार्यालय प्रमुख तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका दुईवटा मेडिकल कलेजका प्रमुखहरूसँग बैठक बसेर आवश्यक पर्दा मात्रै परीक्षण गर्ने निर्णय गरेको हो।
‘समाजिक पहुँचका आधारमा जथाभावीरुपमा पिसिआर परिक्षणको माग र सिफारिस हुन थालेपछि पछिल्लो वैज्ञानिक निर्देशनलाई पालना गरेर मात्र परीक्षण गर्ने निर्णय भएको छ,’ भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले भने, ‘परीक्षणको गुणस्तरमा विशेष ध्यान दिँदै स्वास्थ्य कार्यालय र निजी अस्पतालहरुलाई विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार आवश्यक पर्नेलाई मात्र परीक्षण गर्ने गरी सिफारिस र व्यवस्थापन गर्ने भनेर निर्णय भएको छ।’
बैठकले शंकास्पद व्यक्तिको नमुना सम्बन्धित अस्पताल आफैँले संकलन गरेर पठाउने र परीक्षणमा आवश्यक पर्ने ‘भाइरल ट्रान्सफर मिडिया’ सरकारी तवरमा उपलब्ध नभएमा आफैँले व्यवस्था गर्ने निर्णय भएको उनले बताए। ‘शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ज्वरोसहित कोरोनाको लक्षण देखिए मात्र स्वाब परीक्षण गरी पठाउने निर्णय गरिएको छ,’ उनले भने, ‘पछिल्लो समय निर्देशिकाअनुसार आवश्यक नपर्नेहरुले पनि परीक्षणका लागि दबाब दिने क्रम बढेपछि आवश्यक पर्नेका लागि मात्र परीक्षण गर्ने निर्णय गरिएको हो।’ भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन र नवलपुरका कोरोना आशंका गरिएकाहरुको स्वाब परीक्षण गरिँदै आइरहेको छ।
विगत तीन दिनदेखि चितवनमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्नेको संख्या बढी भएपछि बाध्य भएर आवश्यक पर्नेलाई मात्रै परीक्षण गराउने निर्णय गरिएको अस्पतालले जनाएको छ। ‘हामीसँग पर्याप्त स्रोत साधन भएको भए आएका जति सबैको परीक्षण गर्न राम्रै हुन्थ्यो,’ डा अधिकारीले भने, ‘तर, सबै कुरालाई हेरेर काम गर्नुपर्ने अवस्था छ। अहिले सबैको परीक्षण गराएर भोलि संक्रमित नै आएको बेला उसले परीक्षण गर्न पाएन भने झन् जोखिम बढ्छ।’
बिहीबार पनि चितवनमा ६१ वटा नमुना संकलन भएको थियो। सामान्यतया हरेक दिन २०–३० वटा नमुना संकलन हुँदै आएको चितवनमा अहिले परीक्षण गर्नेको संख्या दोब्बरभन्दा बढी भएको भरतपुर अस्पपतालले जनाएको छ। चितवनमा हालसम्म दुईजनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरू निको भएर घर गइसकेका छन्।


























