काठमाडौं, जेष्ठ १ । स्वास्थ्य मन्त्रालयले आगामी दिनमा कोरोना संक्रमणको दर अझ बढ्नसक्ने जनाएको छ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार भएको छलफलमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै जिल्ला उत्तिकै जोखिममा रहेका कारण धेरै सावधानी अपनाउन जरुरी रहेको बताए।
१५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा बढी संक्रमण देखिएको भन्दै उनले जटिल स्वास्थ्य समस्या भएकाहरु भने नभेटिएको बताए।
हाल देशका नौओटा अस्पतालहरुबाट संक्रमितहरुको उपचार भइरहेको र भारतलगायत विभिन्न पाँच देशबाट संक्रमितहरु नेपाल आएको उनले जानकारी दिए।
परीक्षण गर्ने ‘आरडीटी’ र ‘पीसीआर किट’हरु अभाव नभएका कारण परीक्षणको दायरा बढाउँदै लैजाने भन्दै डा. देवकोटाले प्रतिदिन १८ स्थानबाट तीन हजार व्यक्तिको परीक्षण गर्न सकिने क्षमता रहेको बताए।
छलफलमा सांसदहरुले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिए।
उनीहरुले जनघनत्व बढी रहेको स्थानमा परीक्षण बढाउनुपर्ने र एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशलाई कडाइ गर्नुपर्ने बताएका थिए।
छलफलमा सांसद गगन थापा र जीवनराम श्रेष्ठले असारसम्म करिब पाँच लाख व्यक्तिको परीक्षण गरिसक्ने गरी तयारी गर्न मन्त्रालयलाई सुझाव दिए।
बजेटमा जिल्ला अस्पतालहरुलाई सुधार गरी ५० ‘बेड’सम्मको अस्पताल बनाउन र प्रत्येक अस्पतालमा सरुवारोग परीक्षण ‘युनिट’ राख्नसमेत सांसदहरुले सुझाव दिएका थिए।
साथै, उपचारमा प्रयोग गरिने ‘पीपीई’ सामग्रीको उत्पादन नेपालमा नै गराउनसमेत आग्रह गरेका थिए।


























