चितवन, बैशाख ३१ । बैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएकी राप्ती नगरपालिकाकी ६३ वर्षिया महिला कोरोनाबाट मुक्त भएपछि बुधबार भरतपुर अस्पतालबाट ‘डिस्चार्ज’ भएकी छन्। गत चैत ३ गते बेलायतबाट नेपाल फर्किएकी ती महिलालाई एकमहिनापछि कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा बस्दै आएकी उनी २६ दिनपछि घर फर्किएकी हुन्। उनीसँगै संक्रमण देखिएका २७ वर्षिय पुरूष भने संक्रमण देखिएको एक हप्तामै निको भएर घर फर्किइसकेका छन्। संक्रमित दुवैजना आमाछोरा हुन्।
करिब एक महिनाको अस्पताल बसाइपछि कोरोनाबाट मुक्त भएसँगै चितवन जिल्लामा देखिएका दुईजना संक्रमित पूर्णरूपमा स्वस्थ भएको अस्पतालले जनाएको छ। बैशाख ५ गते आमाछोरामा एकैसाथ संक्रमण देखिए पनि त्यसपछि भएका पिसिआर परीक्षणमा भने कोरोना देखिएको छैन। संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई पनि पिसिआर परीक्षण गरेको थियो। चितवनमा संक्रमितको संख्या नबढे पनि अन्य जिल्लामा भने तीव्रत्तर रूपमा संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। भारतसँगको दुईवटा मुख्य नाकासँग जोडिएको जिल्ला भएकोले पनि चितवन जिल्ला उच्च जोखिममा छ।
यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या २१७ जना पुगेको छ। देशभर १८ हजार ९९० जनाको पिसिआर परीक्षण गर्दा २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये ३४ जना भने निको भएर घर फर्किइसकेका छन्। पिसिआर र आरडिटी गरी दुवै खालको परीक्षण गर्नेको संख्याm भने ७६ हजा ४२४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


























