काठमाडौं, बैशाख २६ । प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुईतिहाइको सरकार दुई कौडीको पनि नभएको भन्दै आक्रोश पोखेका छन्।
संसद्को छैठौं अधिवेशनको पहिलो दिन प्रतिनिधि सभामा बोल्दै महतोले सरकारले कुर्सीको लडाईं गर्न मात्र सिपालु भएको आरोप लगाए।
उनले हुकुमी शासन गरेको भन्दै कानूनमा भएको व्यवस्थाबमोजिम अपहरणको जाहेरी पनि नलिएको बताए।
‘जनता महामारीबाट पीडित छ, खान पाएको छैन, स्वास्थ्यकर्मीले सामग्री पाएको छैन,’ आक्रोशित मुद्रामा भाषण गरेका महतोले भने, ‘सरकार अर्कै धन्दामा लागेको छ। पार्टी फोर्ने, सांसद चोर्ने धन्दा के हो ? यसले जनताको पीडा कम हुन्छ ? अपहरणकारीलाई कारवाही गरिदेऊ भनेर जाँदा जाहेरी नलिने ! यो हुकुमी शासन कहिले आयो ?’
उनले सरकार अर्काको पार्टी फुटाउने धन्दामा लागेको आरोप लगाए ।
‘अपहरण गर्ने धन्दामा सरकार लाग्यो। कुर्सी जोगाउने धन्दामा सरकार लागेको छ,’ उनले भने, ‘जनतासँग सरोकार राख्नुपर्दैन ? यस्तै संकट परेको बेलामा जनताले सरकारबाट सुरक्षा खोजेको हुन्छ। यो संकटको बेलामा पनि सरकारको काम नदेखिएपछि के काम ?’
उनले अर्काको पार्टी फुटाउन सरकारले ‘सरप्राइज’ गरेको भन्दै त्यसका विरुद्ध आफूहरू एक भएर सरकारलाई अर्को सरप्राइज दिएको बताए।


























