चितवन, बैशाख २२ । जङ्गली च्याउ खादाँ चितवनमा १२ जना बिरामी भएकाछन्। जङ्गली च्याउ खाँदा बिरामी भएका दुई परिवारका १२ जनाको चितवनमा उपचार भइरहेको छ। बिरामीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनाका डीएसपी एकनारायण कोइरालाले बताए।
जङ्गली च्याउ खाँदा चितवनको कालिका नगरपालिका ३ को पदमपुरका सात जना बिरामी भएका हुन्। उनीहरुले घर नजिकैको जङ्गली च्याउ खाएका थिए। जङ्गली च्याउँ खाँदा पदमपुरका ३४ वर्षीय शिव चौधरी, २७ वर्षीया समीक्षा चौधरी, २४ वर्षीया अनिता चौधरी, २५ वर्षीय निरजकुमारी चौधरी, ४० वर्षीया सीतावती देवी, ४५ वर्षीय लखन चौधरी र २७ वर्षीया पूजा चौधरी बिरामी भएका हुन्।
उनीहरुको अहिले भरतपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। बिरामीमध्ये २४ वर्षीया अनिता चौधरीको अस्था गम्भीर रहेको भरतपुर सामुदायिक अस्पतालका डाक्टर महेन्द्र अग्रहरीले जानकारी दिए।
त्यस्तै जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका २९ को जुगेडीका पाँच जना बिरामी भएका छन्। उनीहरुले शनिबार साँझ घर नजिकै रहेको वनबाट टिपेर ल्याएको जङ्गली च्याउ खाएका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उहाँका २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरीहरु १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन्।
च्याउ खाएसँगै बिरामी परेपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो। बिरामीमध्ये वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले बताएको छ।


























