काठमाडौं, बैशाख २१ । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाईंदैछ। विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन मनाउन थालिएको हो।
यसवर्षको विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस कोरोनाका कारण विगतका जस्तो भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था भने छैन। तैपनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन प्रसारणमार्फत् दिवस मनाइँदैछ।
यसै सन्दर्भमा नेपाल पत्रकार महासंघले आज दिउँसो १ बजे विशेष डिजिटल संवाद कार्यक्रम गर्दैछ। सो कार्यक्रम मार्फत दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्थाबारे अन्तराष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को अनुगमन प्रतिवेदन सार्वजनिक गर्ने महासंघले जनाएको छ।
महासंघका अनुसार ०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका छन्। घटनामा ९४ पत्रकार तथा तीनवटा सञ्चार संस्था पीडित भएका महासंघले जनाएको छ। यता सरकारले पनि संचार माध्ययमलाई सधैं शत्रुवत व्यवहार गर्ने गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक जसो सम्बोधनमा संचारकर्मीलाई सरकारको विरुद्ध उत्रिएको आरोप लगाउने गरेका छन्। यो महामारीमा पनि संचारकर्मीले कसरी काम गरेका छन् भन्ने सम्म कहिल्यै नसोच्ने सरकारले आगामी दिनमा झन कस्तो नीति अपनाउला त्यो सोचनिय बनेको छ।


























