काठमाडौं, बैशाख १९ । नेपालमा कोरोना सङ्क्रमित भएर उपचाररत ४१ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना सङ्क्रमितमध्ये धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा ८ र विराटनगरमा ३१ गरी ४१ जनाको उपचार भइरहेको छ। उनीहरु सबैको स्वास्थ्यअवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
नेपालमा द्रुत विधि र पीसीआर विधिको परिक्षणको दायरा पनि बढाईएको उनको भनाइ छ। आइसोलेसनमा भने देशभरी ८० जना रहेका छन्। क्वारेन्टाइनमा २३ हजार ३ सय ३६ जना रहेका छन्। नेपालमा कोरोना सङ्क्रमितको संख्या ५७ पुगेको भए पनि १६ जना निको भइसकेका छन्।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्मको अध्ययनले आमाले शिशुलाई स्तनपान गराउँदा कोरोनाको सङ्क्रमण नदेखिएकाले शङ्का नगरिकन स्तनपान गराउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बालबालिकालाई स्तनपान गराउनु महत्वपूर्ण भएकाले कोभिड देखिएका र क्वारेन्टाइमा रहेका महिलाहरूले पनि शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन सक्ने बताए।


























