काठमाडौं, बेशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको आरोप लगाएका छन्। अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारले यो अवस्था आउन नदिने बताए।
श्रमिक दिवसको अवसरमा दिएको ओलीको शुभकामना सन्देशमा अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने बताइएको छ।
कोरोना महामारी विरुद्धको लडाईमा एक हुँदै श्रमिकको रोजगारी, आय र सामाजिक सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ सम्पूर्ण प्रयास केन्द्रित हुने बताएका हुन्।
उनले सबैभन्दा पहिले टुटेको उत्पादन सम्बन्धको कडीलाई जोड्ने र अवरुद्ध उत्पादन प्रणालीलाई सुचारु गरिने बताएका छन्।
प्रधानमन्त्री ओलीले घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै नराख्ने उल्लेख गर्दै आफू नेतृत्वको सरकारले भ्याएसम्म सुविधाको जोगावट गर्ने बताएका छन्।
‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन, रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ। तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ’, प्रधानमन्त्रीले भनेका छन्।
यस्तै प्रधानमन्त्री ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको र ती प्रयासमा केही सञ्चार माध्यमहरु पनि सहभागी भएको आरोप लगाएका छन्।
‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ। एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो’, प्रधानमन्त्रीले भनेका छन्।
मुलुकको वर्तमान परिस्थितिलाई कसैले बिथोल्न खोजे सरकार नेकपाका कार्यकर्ता र आम नेपाली जनताले किमार्थ स्वीकार नगर्ने प्रधानमन्त्रीले बताएका छन्।
उनले भनेका छन्, ‘आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन। त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु।’


























