ब्रिजवेन, बेशाख १३ । अस्ट्रेलियाको ब्रिजवेनमा बस्ने नेपाली विद्यार्थीको डेरामा आगलागी भएको छ। आगलागीबाट महत्वपुर्ण कागजपत्र र धनमाल जलेर नष्ट भएको छ।
ईष्ट व्रिजवेनमा बसोबास गर्दै आएका उनीहरुको डेरामा बिहिबार साझ आगलागी भएको हो। आगलागीबाट एक थान ल्यापटप, एक थान आईप्याड, लत्ता कपडा, फर्निचर, दुई हजार डलर नगद लगायत जलेर नष्ट भएको छ।
त्यस्तै शैक्षिक प्रमाणपत्र, पासपोर्ट र अन्य महत्वपुर्ण कागजात पनि जलेको डेरावाला अधिकारी थरका युवकले बताए। उनले भने, ‘भएभरको लत्ताकपडा जलेर नष्ट भयो, पैसा पनि जल्यो अब के गर्ने केही सोच्नै सकेको छैन। उनका अनुसार पासपोर्टचाहि आशिंक रुपमा जलेको छ।’
७ हजार डलर जतिको धनमाल जलेको ती युवकको अनुमान छ। डेरामा आगलागी भएको खबर ती जोडीले नेपालमा आफन्तलाई नभनेकाले उनीहरुले आफ्नो पहिचान गोप्य राखिदिन अनुरोध गरेका छन्। विद्यार्थी युवती फेडेरेसन विश्वविद्यालयमा मास्टर्स ईन बिजनेस पढिरहेकी छिन्।
दुबै जना काममा गएको बेला बन्द कोठा भित्रबाट आगलागी सुरु भएको थियो। छिमेकीले दमकललाई खबर गरेका थिए। केही बेरमै दमकलले आगो नियन्त्रणमा लिएको थियो। कोठामा ल्यापटप चार्ज गरेर राखेकाले त्यसैबाट आगो सल्किएको हुनसक्ने अनुमान छ।
दुई तल्ले घरको माथिल्लो तल्लामा रहेको चार कोठामा ८ जना नेपाली बस्दै आएका थिए। एउटा कोठामा आगलागी भएपछि प्रहरीले घरनै सिल गरेको छ। घर सर्न पर्ने भएपछि अहिले त्यहा बस्ने ८ जना नेपाली तत्कालै कोठा खोजेर सर्नु पर्ने भएको छ।






















