– विनोद अनुज
चितवन, बैशाख १२ । भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका दुईजना कोरोना संक्रमितमध्ये एकजना निको भएका छन्। संक्रमण देखिएको एक हप्तापछि गरिएको दुईवटा परीक्षणमा कोरोनाको संक्रमण नदेखिएपछि अस्पतालले उनलाई घर पठाउने तयारी गरिरहेको छ। गत बैशाख ५ गते कोरोना संक्रमण देखिएका २७ वर्षिय युवालाई २४ घण्टाको अन्तरमा गरिएको परीक्षणमा दुवै रिपार्ट नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।
‘हिजो र आज गरेको दुवै परीक्षणमा लगातार नेगेटिभ रिपोर्ट आएपछि उनलाई पूर्णतयाः निको भएको मानिन्छ,’ उनले भने, ‘त्यसैले भोलि दिउँसोसम्ममा घर पठाउने अस्पतालको तयारी छ।’
सँगै अस्पताल भर्ना भएकी उनकी ६३ वर्षिया आमामा भने हिजो गरेको परीक्षणपछि पनि कोरोनाको संक्रमण देखिएपछि थप एक हप्ताको लागि अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेको छ। एक हप्तापछि गरिने परीक्षणमा दईपटक गर्ने परीक्षणमा कोरोना नदेखिएमा उनलाई पनि घर पठाउन सकिन्छ। तर, ती महिलाको अवस्था सामान्य रहेको र कुनै पनि लक्षण नदेखिएको उनले बताए।
संक्रमित दुवैजना गत चैत ३ गते बेलायतबाट काठमाडौँ झरेका थिए। दुईदिनको काठमाडौँ बसाइपछि चितवन आएका दुवैजनालाई यही बैशाख ५ गते पिसिआर परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको थियो।
यसैबीच कोराना (कोभिड-१९) संक्रमितको सुचिमा एक व्यक्ति थप भएका छन् । आज साँझ मात्रै झापाका ६२ वर्षीय एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या ४९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
जसमध्ये १० जना यसअघि नै निको भएर घर फर्किइसकेका छन्। चितवनका युवा पनि घर फर्किएपछि कोरोना संक्रमणबाट निको हुनेको संख्या पनि ११ पुग्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्ममा कोरोनाको आशंकामा नौ हजार ४०८ वटा नमुनाको परीक्षण भएको छ। यस्तै चितवनमा आज पनि कोरोनाको आशंकामा २४ वटा नमुना संकलन भएको थियो। ती सबैमा कोरोनाको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ।


























