काठमाडाैं, बैशाख ११ । सरकारले जेठ १५ मै संसद्मा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार साँझ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै अवस्था असहज भए पनि कर्मचारीले बजेटका लागि काम गरिरहेको र जेठ १५ मै बजेट प्रस्तुत गर्ने गरी तयारी भइरहेको बताएका हुन्। कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम जीवनरक्षासँग सम्बन्धित भए पनि आर्थिक क्रियाकलापमा प्रतिकूल असर परेको उनले बताए। बजेट कस्तो ल्याउने भन्ने विषयमा भने सरोकारवालासँग पर्याप्त छलफल एवं अन्तर्क्रिया गर्न नसकिएको उनले बताए।
औद्योगिक क्षेत्र खुकुलो बनाइँदै
देश लकडाउनमा रहेका बेला सरकारले उद्योग, निर्माण तथा सेवा क्षेत्र सञ्चालन क्रमशः खुकुलो बनाउने निर्णय गरेको छ। सेवा क्षेत्र खोलेर असंगठित क्षेत्रका श्रमिकलाई काममा आवद्ध गराउने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा खतिवडाले जानकारी दिए। औद्योगिक क्षेत्रलाई खुकुलो बनाउँदा श्रमिकको जीवनयापन बिस्तारै सहज बन्दै जाने उनको भनाइ छ।


























