चितवन, बैशाख ९ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाबाट ३२० वटा नमुनाको पिसिआर परीक्षण भएको छ। गत चैत २४ गतेबाट सञ्चालनमा आएको परीक्षण प्रयोगशालाबाट परीक्षण गरेका नमुनामा हालसम्म दुईजनामा कोरोना संक्रमण देखिएको छ। बाँकी सबैको नतिजामा कोरोना देखिएको छैन। सरकारले केन्द्रबाट पठाएको ३८४ थान कीट सकिएपछि हिजो बुधबार संकलन भएको नमुना भने परीक्षणको लागि हेटौँडा पठाइएको भरतपुर अस्पतालले जनाएको छ।
कोरोना परीक्षण गर्ने मेसिनमा प्रयोग गरिरहनु पर्ने भएकोले पनि पठाएको कीटबराबरको नमुनाको परीक्षण नभएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए। उनका अनुसार अहिले पनि मन्त्रालयसँग चारसय थान कीटको माग गरिएको उनले बताए। ‘हामीले चारसय कीट पठाउन भनेका छौँ, आजै आइपुग्नेछ,’ उनले भने।
मन्त्रालयले पठाएकाे सबै कीट सकिएपछि अहिले भरतपुरकाे प्रयाेगशालामा काम राेकिएकाे छ। आज साँझसम्ममा कीट आइपुग्ने र आज संकलन भएकाे नमुनाकाे परीक्षण चितवनबाटै हुने उनले बताए। स्वास्थ्य तथा जनसख्या मन्त्रालयको विज्ञ टोलीको समन्वयमा भरतपुरको राष्ट्रिय पंक्षी रोग अन्वेषण केन्द्रमा प्रयोगशाला स्थापना गरेको हो। चितवनकै स्थानीय स्रोतसाधन र जनशक्तिबाट कोरोना परीक्षणका लागि भरतपुर कोभिड–१९ प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।


























