चितवन, बैशाख ७ । चितवनमा पनि दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि केन्द्रीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालले उपचार सेवालाई थप प्रभावकारी बनाउने भएको छ। अस्पतालले आज सूचना जारी गर्दै ‘ए’ ब्लकको भुइँतलालाई ‘सिल’ गरी आवश्यक प्रविधिको जडान गरेर कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन लागेको जानकारी गराएको हो।
अस्पतालमा अन्य सेवा लिइरहेका र लिन आएका सेवाग्राहीलाई असर नपर्ने तरिकाले व्यवस्थापन गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले विज्ञप्तीमार्फत जानकारी गराएका छन्। केही दिनअघि कोरोनाको संक्रमण पुष्टि भएका दुईजनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा तिवारीका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ।
काेिभड-१९ का कारण काेही पनि हताेत्साही हुनपर्ने अवस्था नरहेकाे अस्पतालले जनाएकाे छ। अस्पतालले अन्य सेवाका लागि अस्पताल आउने सेवाग्राहीलाई निर्धक्क भएर सेवा लिन पनि आग्रह गरेको छ। ‘पोजेटिभ भनिएका मानिसहरूको व्यवस्थापन आइसोलेसन क्याविनमा इन्टरनेट र सिसिटिभी मनिटरिङमा रहेको हुनाले अन्य कुनै पनि हाल प्रदत्त सेवा अवरूद्ध नहुने र निर्धक्क सेवा लिन सेवाग्राहीमा समेत अनुरोध गरिन्छ,’ उक्त विज्ञप्तीमा भनिएको छ।

गर्भवतीकाे लागि ओपिडी खुला गरिने
अस्पतालले गर्भवतीकाे बच्चा जन्मिने मिति कटेमा, रगत बगेमा, धेरै पेट दुखेमा, माथिल्लाे पेट दुखेमा, बच्चा कम चलेमा, टाउकाे धेरै दुखेमा र अप्रेशनपछि टाँका काट्ने, घाउ रसाएमा वा राताे भएकाे खण्डमा ओपिडी सेवा पनि खुला रहने अस्पतालले जनाएकाे छ।



























