चितवन, बैशाख ६ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको नेतृत्व महिलाले गरेका छन्। ती निकायका प्रमुखमा क्रमशः रेनु दाहाल, प्रभा बराल र गीताकुमारी गुरुङ छन्। नेकपाका अध्यक्ष पुष्पकल दाहाल पुत्री रेनु तत्कालीन नेकपा (माओवादी) केन्द्र र नेपाली कांग्रेसकाे गठकन्धनबाट निर्वाचित भएकी हुन् भने, बराल तत्कालीन नेकपा एमाले र गुरुङ नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन्।
‘पुरुषले भन्दा महिलाले हरेक क्षेत्रमा उदाहरणीय काम गर्न सक्छन्’ भन्ने उदाहरण यहाँका ती जनप्रतिनिधिले प्रस्तुत गरिरहेका छन्। नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिना साथ भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा कोरोना उपचारका लागि ७२ घण्टाभित्र अस्थायी अस्पताल निर्माण भयो।
राजधानी काठमाडौँ र धादिङबाट घर जान आएका मजदूरलाई गाडी रोकेर आ–आफ्नो गन्तव्य पठाउने इच्छाकामनाका प्रमुख गुरुङ अहिले चर्चाको शिखरमा छिन्। जिल्लाभित्र पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण देखिएको राप्ती नगरपालिकाका प्रमुख बरालको व्यवस्थापकीय क्षमता उदाहरणीय बनेको छ।
भरतपुर महानगरपालिकाले गरेकाे कामलाई नमुना कामकाे रुपमा लिन्छन् प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी। दाहालकै अग्रसरतामा भरतपुर कोभिड–१९ प्रयोगशाला सञ्चालनमा अएको छ। जिल्लाका तीन ठाउँमा क्वारेन्टाइन सञ्चालन गरिँदैछ। अस्पतालका कर्मचारीका लागि स्थानीय होटलमा क्वारेन्टाइन सञ्चालन गरिँदै आइएको छ। महानगरभित्रका १६ हजार १६३ परिवारले पहिलो चरणमा राहत पाइसकेका छन्। नपुगेकालाई मागका लागि फारम वडा कार्यालय पठाइएको अधिकृत जोशीको भनाइ छ। महानगरसँगै सहकार्य गरेर बाटोमा हिँड्ने मजदुर र खानबाट बञ्चित भएकाहरुलाई खाना खुवाउने काम भइरहेको छ।
महानगरपालिका प्रमुख दाहालको यतिबेलाको दैनिकी कोरोनाको जोखिम हुन नदिन नै केन्द्रित हुने गरेको छ। महानगरभित्र रोग भित्रिन नपाओस् र कोही भोकै बस्न नपरोस् भन्नेमा आफ्नो पूरै समय खर्चिएको उनी बताउँछिन्। आफूले महानगरवासीलाई सङ्कटको घडीमा दरिलो अभिभावकत्व दिने गरी काम गरिरहेको उनले दाबी गरिन्। उनले भनिन्, ‘सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नोस् भनेको छु, सङ्कटमा मिलेर जुध्नुपर्छ।’ स्वभावतः सबैसँग मिल्न सक्ने भएकाले वृहत परामर्शमा काम गरिरहेकाले उनले सत्तापक्ष र प्रतिपक्षको साथ पाउँदै आएकी छिन्। महानगरमा चार लाखभन्दा बढी जनसङ्ख्या छन्। पीडामा बढी महिलालाई पोल्ने हुँदा पनि सङ्कटमा महिला जनप्रनिधिको नेतृत्व प्रभावकारी हुने बताइन्छ।
मकवानपुरसँग जोडिएको जिल्लाको पाँच नगरपालिकामध्येको राप्ती नगरपालिका हो। जहाँका दुई जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ। नगर प्रमुख बराल रोगको सङ्क्रमण नेपालमा भित्रन्छ भन्ने अनुमान भएसँगै आफ्नो दैनिकी फेरिएको बताउँछिन्। विगत एक महिनादेखि नगरवासीलाई सचेतना, क्वारेन्टाइन व्यवस्थापनजस्ता कार्यका लागि बैठक र दौडधुपमै उनको दैनिकी बित्ने गरेको छ। आम नागरवासीलाई गर्भिलो अभिभावकत्व दिन प्रमुख बराल लागिरहेकी छिन्। उनको नगरको चार वडा पहाडमा पर्दछन्। उद्योग कलकारखाना धेरै छन्।
‘भोकै कोही बस्न नपरोस्’ भन्नका लागि उनले राहतमा बढी जोड दिएकी छिन्। हालसम्म पाँच हजार ३८५ परिवारले राहत पाइसकेका छन्। लगभग ६० लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछिन्। स्थानीय बुद्ध शान्ति माविमा क्वारेन्टाइन चलिरहेको छ। अहिले सङ्क्रमण देखिएको वडा नं ८ का जनतालाई राख्न त्यहाँको ब्रह्मनगर स्कूलमा क्वारेन्टाइन बनाउने क्रममा छिन्।
धादिङतर्फ जोडिएको इच्छाकामना गाउँपालिका प्रमुख गुरुङको दिन आजभोलि सडकमै बित्ने गरेको छ। पैदल हिँड्नेलाई गाडी रोकेर चढाएर पठाउने, चाउचाउ, पानी, बिस्कुटजस्ता खाना खुवाउने र राहात बाँड्न उनी व्यस्त छिन्। उनले भनिन्, ‘बिहान घरबाट हिँडेपछि रात परेको थाहा पाउँदिन म।’ सडकमा पैदल हिँडेका मजदुरदेखि खान नपाएका गाउँवासीसम्मकोमा उनी पुग्ने गरेकी छिन्। घरको क्वारेन्टाइनमा बसेकालाई सम्झाउन पनि उनी पुग्ने गरेको बताउँछिन्।
सो गाउँपालिकाको जनसङ्ख्या २८ हजार रहेको छ। जसमध्ये पाँच हजार ५०० चेपाङ पर्दछन्। कूल जनसङ्ख्याको आधा गरिब छन्। उनले अहिलेसम्म एक हजार ५०० भन्दा बढी घरधुरीलाई राहत बाँडिसकेको बताइन्। दाताको खोजी गर्ने पनि उनको दैनिकीभित्र पर्दछ। उनले भनिन्, ‘पुरुषको भन्दा कम मैले गरेको छैन। आत्तिने र मात्तिने मेरो बानी छैन।’ जनताको हितमा सकेजति लाग्ने भन्दै उनले फेरि थपिन्, ‘मेरो क्षेत्रमा मजदुर हिँडिरहने म घरमा मज्जाले सुत्न सक्दिनँ। म घरमा खाइरहँदा मेरो गाउँवासीले पनि खान पाउनुपर्छ।’
चितवन जिल्लामै सबैभन्दा पहिले आफ्नाे मतदालाई उतले उद्धार गरेकी थिइन्। लकडाउनकाे केही दिनमै मजदुरी गर्न बाग्लुङ पुगेका इच्छाकामना गाउँपालिकाका ४६ जना युवालाई जिल्ला प्राशासनबाट अनुमति लिएर उद्धार गरेकी थिइन्। तीनै प्रमुखको दैनिकी सङ्कट समाधानमा केन्द्रित हुने गरेको छ। क्वारेन्टाइनदेखि राहतसम्मका काम गर्दैगर्दा तीन वटै स्थानीय तहका जनतालाई अभिभावकत्व दिलाउन सकियोस् भन्ने सङ्कल्पका साथ काम गरिरहेको देखिन्छ। – रासस


























