– सविता अधिकारी
देश लकडाउनको तेस्रो चरणमा छ। लकडाउनकै कारण धेरै मानिस फुर्सदिला भएका छन्। तर, केही मानिसहरू भने लकडाउनको समयमा बढी व्यस्त भएका छन्। तीमध्ये चित्रकारहरूले यो लकडाउनको समयलाई भरपुर प्रयोग गरेर आफ्नो कला र क्षमता प्रस्तुत गरिरहेका छन्। सायद लकडाउनले कलालाई असर नगरेको हो कि?
जीवन र जगतसँग कलाको महत्त्वपूर्ण सम्बन्ध रहेको हुन्छ। कलाको दृष्टिकोणबाट चित्रकलालाई धेरै नै महत्त्वका साथ हेरिन्छ। विश्व मञ्चमा यो विधा कलाका अन्य विधाहरूभन्दा उच्च र जेठो विधाका रूपमा प्रतिष्ठित छ। त्यसैले यस विधालाई विश्वभाषा मानिन्छ। कारण, यसलाई बुझ्न र बुझाउन कुनैे स्थानीय भाषाको आवश्यकता पर्दैन। चित्र आफैँ बोलेको हुन्छ, बस हामीले महसुस गर्नुपर्छ।
पुराना चित्रकार भीमप्रसाद सुवेदीलाई लकडाउनले दिन बिताउन कुनै असर पुर्याएको छैन। ‘चित्र कोर्नमै व्यस्त छु, त्यसैले होला अरूले दिन बिताउन गाह्रो भनिरहे पनि मलाई त्यो समस्या भएको छैन, दिन बितेको पत्तै पाउँदिनँ,’ उनी भन्छन्, ‘चित्र बनाइरहने मान्छेलाई यो समयले अझ एकाग्रता बढाएको छ।’ घरमै बसेर गर्ने काम भएकोले चित्र कोर्नुको आलवा घरको काममा समय बित्ने गरेको उनी बताउँछन्।

अहिलेको परिस्थिति र भावनाअनुरूप पनि उनले चित्र कोरेका छन्। ‘मनमा त्यही छ। कसैको कुरा सुन्यो त्यसकै कुरा गर्छन्। मोबाइल हेर्यो त्यही देखिन्छ। नगरौं भने पनि एउटा दुईटा त अवश्य बन्छ कोरोना सम्बन्धी चित्र,’ उनी सुनाउँछन्। १० वटा एकल चित्रकला प्रदर्शनी गरिसकेका सुवेदीलाई यो समय ११औँ श्रृङ्खलाको लागि आवश्यक तयारी गर्ने मौका पनि मिलेको छ। ‘कर्म भन्ने विषयवस्तुमा काम गर्ने सोचमा थिएँ, कहिलेबाट सुरू गरौं भन्ने भा’को थियो, ठ्याक्क उपयुक्त समय मिलेको छ,’ उनी भन्छन्।

कलाबारे कुनै पनि औपचारिक शिक्षा नलिएकोले अभ्यास र ईश्वरको वरदानकै कारण यो स्थानमा आफूलाई उभ्याउन सफल भएको उनको बुझाइ छ। पछिल्लो समय शैक्षिक पाठक्रमअन्तर्गत पनि अध्ययन हुने गरेको छ। अध्ययनले आत्मविश्वास बढाउँछ। विश्व इतिहास हेर्ने हो भने विश्व प्रशिद्ध कलाकारहरू स्वअध्ययन गरेरै उच्च विन्दुसम्म पुगेका छन्।
पहिलो गुरु आफ्ना बुबालाई मान्छन्। पण्डित थिए उनका बुबा। ज्योतिष शास्त्र जानेको हुनाले हातैले चिना बनाउँथे। ठूलो मान्छेको चिना ठूलो हुन्छ भन्ने मान्यता थियो। चिनाको छेउमा बुट्टा भर्ने, चरा, फुल आदि बनाउने गर्थे। ‘बुबाले गरेको हेर्थें, अलिअलि आफैँले गर्न थालेँ। मैलै राम्रो गर्न थालेपछि ‘ल यो तेरो काम’ भनेर छुट्याइ दिनुहुन्थ्यो,’ उनी भन्छन्, ‘यसरी नै सिक्दै आएँ। मलाई अझै पनि सम्झना छ, बुबाले विभिन्न वनस्पती फूल, जस्तैः मालतीको फूलबाट गुलाबी, घिरौँलाका पातहरू गाढा हरियो, के–के रुखको बोक्रालाई पिसेर पकाएर कालो रंग बनाएको। त्यही सिकेर कहिलेकाहीँ अहिले पनि आफूले बनाएको चित्रमा प्रयोग गर्ने गरेको छु।’
विषयवस्तु हेरेर रंगको प्रयोग हुने उनी बताउँछन्। ‘कहिकतै गाढा (चम्किलो) पहेँलोले मनमा खुशी र उज्यालो भएको अनुभव गर्दछु,’ चित्र कोर्दै गर्दाका अनुभव सुनाउँदै उनी भन्छन्, ‘मेरो बिचारमा पहेँलोले उज्यालो ज्योतिको प्रतिनिधित्व गर्ने हुँदा यो रंग अलि बढी प्रयोग गर्छु जस्तो लाग्छ।’
अर्का चित्रकार बरूणबाबु घिमिरे उमेरले युवा, तर काममा पुराना र अनुभवी व्यक्तिभन्दा कम छैनन्। आफ्नो काम नै ‘पेन्टिङ’ भएकोले उनले पनि अहिले यसैलाई निरन्तरता दिइरहेका छन्। तर वातारवणसँग रमाउँदै काम गर्न नपाउँदा पृथ्वी नै केही साँघुरिएको जस्तो अनुभव भएको उनी बताउँछन्। ‘काम गरे पनि मज्जाले खुलेर गर्न चाहिँ सकेको छैन,’ उनी भन्छन्, ‘मानसिकतामा अलि त्रास भएर होला जति स्वतन्त्र भएर गरिन्थ्यो त्यति हुन सकेको छैन। बाहिरी शान्तिसँगै मनमा पनि शान्ति हुनुपर्छ।’

तर, ‘अर्डर’ आएका काम भने रोकेका छैनन्। अर्डरमा आएका सबै काम गरिरा’छु,’ उनी भन्छन्। पछिल्लो समय कसैलाई उपहार दिनुपरे चित्र दिने गरेका छन्। जसलाई उपहार दिने हो उसको ‘पोेट्रेट’ बनाएर दिने चलन बढ्दै गएको उनी बताउँछन्। प्रायः वातावरण र प्रकृतिसँग रमाउन चाहने व्यक्ति भएकोले खुला र शान्त ठाउँमा गएर चित्र कोर्न मन लाग्ने उनी बताउँछन्। ‘चितवन आफ्नै जन्मथलो भएर पनि होला, चितवन झल्किने धेरै चित्र बनाएको छु,’ उनी भन्छन्। आफूसँग भएको यो कलालाई उनी कतैबाट भगवानले आशिर्वाद दिएको हो कि जस्तो लागेको उनी बताउँछन्।
‘आफूलाई सधैँ सिक्दैछु जस्तो लाग्छ,’ उनी थप्छन्,‘भित्रैबाट रमाइलो, आनन्द अनि खुसी मिल्नुपर्छ। पेन्टिङ गर्दा आफूलाई नै भुलिन्छ। त्यसरी काम गर्दा छुट्टै मजा र आनन्द महसुस गराउँछ।’ चित्र कोर्ने भएर होला विदेशबाट आउने साथीहरूले पनि उनलाई रंग उपहार ल्याइदिन्छन्। केही समय अघिसम्म चित्र कोर्ने राम्रो रंग लिन काठमाडौं जानुपथ्र्यो। तर, अहिले चितवनमै पाउन थालिएकोले अलि सहज भएको उनी बताउँछन्।

पछिल्लो समय चितवनमा पनि कलाको महत्त्व बढ्दै गएको उनको बुझाइ छ। ‘पछिल्लो समय चितवनमा पनि कलाप्रतिको झुकाव बढ्दै गएको छ,’ उनी भन्छन्, ‘घर, होटल, कार्यालय आदि सजाउनको लागि पनि कलाको प्रयोग गर्नेहरू दिनानुदिन बढ्दै गइरहेका छन्।’ उनका अनुसार कलाको मूल्य हुँदैन। तर, नेपाली समाजमा कला मन पराउने धेरै भए पनि कलाको महत्त्व बुझ्नेको संख्या तुलनात्मक रूपमा कम रहेको उनी बताउँछन्। तर, पछिल्लो समय बिस्तारै कलाको बजार पनि फराकिलो बन्दै गएको छ। ‘चितवनमा कला क्षेत्रलाई अगाडि बढाउन आफूले बनाएका कलाप्रति सबैको पहुँच पुगोस् भनेर त्यति महँगो दर राख्दिनँ,’ उनी भन्छन्। कलामा सबै रंगको महत्त्व उत्तिकै भए पनि बरूणबाबु घिमिरेलाई सबैभन्दा धेरै निलो रंगसँग खेलेको अनुभव छ।
पहिले सौखको रूपमा चित्र कोर्न सिकेका प्रकाश थापा ‘प्रथा’को लागि भने अहिले जीवन चलाउने माध्यम नै कला बनेको छ। जुनसुकै विषयवस्तुमा पनि चित्र कोर्न सक्ने क्षमता राख्ने उनी आफूले बनाएको चित्र सामाजिक सञ्जालमा पनि राख्न मन पराउँछन्। ‘पहिले सौख र विलासिताको लागि बनाइने चित्रकला अहिले व्यवसाय र जीवनयापनको पाटोको रूपमा विकास हुन थालेको छ,’ उनी भन्छन्, ‘अहिलेलाई मेरा लागि बाँच्ने आधार नै यही हो।’

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएपछि अहिले उनले कोरोना भाइरससम्बन्धी सन्देश मुलक व्यङ्ग्यचित्र (कार्टुन) बनाएर सामाजिक सञ्जालमा साझा गरेका छन्। कोरोना भाइरसबारे उनले आधा दर्जनभन्दा बढी कार्टुन बनाइसकेका छन्। कुनै समय चितवनबाट प्रकाशित स्थानीय दैनिक पत्रिकामा पनि उनी ‘कार्टुनिष्ट’ बनेर काम गर्थे। तर, त्यतिबेला कार्टुनको महत्त्व न ज सर्वसाधारणले बुझ्थे न त पत्रिका सञ्चालकले नै। त्यसैले पत्रिकामा कार्टुन बनाउने काम भने धेरै समय टिक्न पाएन। तैपनि उनले आफ्नो क्षमतालाई मर्न दिएनन्। आफूलाई मन लागेको समयमा कार्टुन बनाएर सामाजिक सञ्जालमार्फत सन्देश फैलाउने काम गर्दै आएका छन्।

लकडाउनका कारण उनी पनि चित्र कोर्नमा थप व्यस्त भएका छन्। ‘दिनभर घरमै हुन्छु, यस्तो बेलामा बाहिर निस्कने कुरा पनि भएन, त्यसैले खाना बनाउने, खाने, यसरी नै बितेको छ अहिलेको समय,’ उनी भन्छन्। उनको नजरमा चित्र एउटा इतिहास हो। गाउँघरमा हलो जोतेको, खेतबारीमा मल बाकेकोदेखि तोरी उखेल्ने, धान बोक्ने जस्ता विषयवस्तु अब चित्रमा मात्र देख्ने दिन आएको उनी बताउँछन्।
‘काम गर्दै जाँदा कहिलेकाहीँ सोचेजस्तो बन्दैन। अर्डर गरेर बनाएको चित्र पनि मन नपरेपछि लगिदिँदैनन्, कतिपयले चित्र लैजान्छन्, तर पैसा नै दिँदैनन्,’ उनी भन्छन्, ‘हामीले गरेको काम त्यति सस्तो छैन। तर, कलाको महत्त्व नबुझिदिँदा कहिलेकाहीँ मनै खल्लो हुन्छ।’ उनको अनुभवमा चित्र मन पराउने धेरै हुन्छन्, तर महत्त्व बुझ्ने कमै हुन्छन्। चित्रमा सबै रंग प्रयोग हुने भएकोले सबै रंगसँग खेल्ने गरे पनि सबैभन्दा बढी हरियो र निलो रंगसँग बढी खेलेको उनको अनुभव छ।
चित्रकलालाई नै व्यावसायिक रूपमा अगाडि बढाउँदै गरेका डी. बराल भने यतिबेला सौराहामा छन्। लकडाउनको पूर्ण पालना हुने गरी सौराहामा रहेको आफ्नै ‘आर्ट ग्यालरी’मा समय बिताइरहेका छन्। सानैदेखि चित्र कोर्नमा खुब सौख राख्थे उनी। त्यसैको प्रतिफल होला अहिले उनी चित्रकलालाई नै भविष्य सम्झेर काम गरिरहेका छन्। ‘कहिलेदेखि चित्रकलामा रमाउन थालेँ भन्ने थाहै भएन,’ उनी भन्छन्, ‘यत्ति कुरा थाह छ कि स्कुल पढ्दा चित्र बनाउँथेँ। साथीहरूले राम्रो छ भनेर हौसला दिन्थे।’ पछिल्लो समय चित्रकलाको पनि दर्शक र प्रयोगकर्ता बढ्न थालेका छन्। त्यसैले चित्रकलाको व्यवसाय पहिलेभन्दा केही फस्टाएको उनी बताउँछन्।

‘पहिले जस्तो छैन, आजभोलि अर्डर आउने क्रम बढेको छ,’ उनी भन्छन्, ‘यसैले बुझाउँछ चित्रकलाको दर्शक कत्तिको बढेको छ भनेर।’ तर, चित्रकलाको मूल्य महँगो हुन्छ भन्ने बुझाइलाई भने चिर्न नसकेको उनी बताउँछन्। ‘चित्रको मूल्य भन्ने कुरा कलाकारको काम, क्षमता र अनुभवले तय गर्छ,’ उनी भन्छन्, ‘कलाकारको वर्षौँदेखिको मेहेनत र संघर्ष हुन्छ, त्यसैले कलालाई महँगो भन्न मिल्दैन।’ निलो रंगसँग खेल्दा बढी आनन्द मिल्ने र शितलता प्राप्त हुने बताउने बराल लकडाउन हुने जानकारी पाएपछि अघिल्लो दिन नै चितवनको भरतपुरस्थित घरबाट सौराहास्थित ‘आर्ट ग्यालरी’मा चित्रसँगै रमाइरहेका छन्।



























