– विपुल सिजापति
भनिन्छ, महाभारतमा सबै कुरा छ र जे छैन त्यो संसारमा कतै छैन। यसमा वर्णित कथाहरू आज पनि सामान्य स्वरूप बदलिएर घटिरहेका छन्। साम, दाम, दण्ड, भेद, इन्द्रजाल, मन्त्र र औषधि यी सात नीतिगत कुराहरू महाभारत कालमा पनि लागू थिए। र, अहिले पछि लागू छ। यसै गरेर यसमा वर्णित चरित्र र चरित्रका मानसिक अवस्था, द्वन्द र क्रिया प्रतिकृयाहरू जे-जस्तो रूपमा देखाइएको छ, ती सबै अहिले पनि देख्न महसुस गर्न सकिन्छ।
त्यसैले महाभारतमा मानव जीवनमा प्रतिपादन गरिएका जीवन चरित्र समग्र मानव जीवन नै हो, जुन मानव जीवनमा घटित भई नै रहन्छ। सोहीअनुरूप महाभारतमा पात्रहरूको पनि प्रमुख र सशक्त भूमिका देखिन्छ। सत्यवती, अम्बा, अम्बिका, अम्बालिका, गान्धारी, कुन्ती, द्रौपदी आदि कतिपय नारी पात्रहरूले स्वाभाविकरूपमै ध्यानाकर्षण गर्न मात्र होइन, एक अमिट छाप छोड्न सफल छन्। महाभारतमा सत्यवतीदेखि सुरु भएको नारीका मानवीय मूल्य ह्रासलाई द्रौपदीसम्मका कथामा देख्न सकिन्छ।
गान्धारी, कुन्ती अम्बा, अम्बिका र अम्बालिकाका नारीजन्य विवशता देख्न सकिन्छ। कौमार्य अवस्थामै आमा बन्नुमा हुने सामाजिक अपहेलनाको डरले नवजात शिशु फाल्न कुन्ती बाध्य छिन्। राज्य र कूलमर्यादाको बचाउ गर्न गान्धारी नेत्रहीनसँग विवाह गर्न बाध्य छिन् भने स्वयम्वरको मौलिक अधिकारबाट अम्बा अम्बिका र अम्बालिका बञ्चित भएका छन्। विवाहित पुरुषसँग प्रेमपूर्वक जीवन भोग्ने लालसाकी द्रौपदी एकातिर पञ्चभोग्या बन्न बाध्य छिन् भने अर्कोतिर पति हुँदाहुँदै पनि अन्य पुरुषबाट विधिद्वारा आमा बन्न अम्बिका, अम्बालिका, कुन्ती र माद्री लाचार छन्।
तथापि, यी सबै नारी पात्रहरूको तुलनात्मकरूपमा अध्ययन गर्दा गान्धारी नै तीमध्ये प्रमुख र सशक्त आमा पात्रको भूमिकामा देखिन्छिन्। गान्धारीको चरित्र एकातिर आदर्शवान, सत्यनिष्ठ, पतिव्रता, धर्मनिष्ठ र न्यायप्रेमी देखिन्छ भने उनकाे नारी सुलभ कमजोरीलाई पनि औंल्याइएको छ। गान्धारी र कुन्ती समवयका हुन्, उही काल र परिस्थितिका यी दुई नारीहरूमा पनि गान्धारी श्रेष्ठ छिन्, परिपक्व छिन् र कुन्तीको तुलनामा निक्कै विदुषी, दूरदर्शी छिन्। गान्धारीको चरित्र एकातिर आदर्शवान, सत्यनिष्ठ, धर्मनिष्ठ र न्यायप्रेमी देखिन्छ भने अर्कोतिर नारी सुलभ कमजोरी पनि उनमा देखिन्छ।
गान्धार (हालको कन्धहार) का चन्द्रवंशी राजा सुबलका कन्या गान्धारी अत्यन्त रुपवती र शिव भक्तिनी थिइन्। उनी युवराज शकुनीभन्दा जेठी थिइन्। गान्धारका युवराज्ञी भएको कारणले गर्दा उनको नाम गान्धारी रहन पुग्यो। गान्धारीको चिनाअनुसार विवाह पश्चात् उनको पतिको मृत्यु हुने योग परेको कारणले सानैमा उनको विवाह यज (बोका)सँग गरेर त्यसलाई बलि दिइएको थियो। महाभारतमा गान्धारीको चरित्र भिष्मको गान्धार आगमन पश्चात् मात्र सुरु हुन्छ। हस्तिनापुरका महाबलशाली भिष्म धृतराष्ट्रका लागि कन्या खोज्दै गान्धार पुग्छन् र गान्धारी माग्दछन्।
राजा सुवल दुविधामा पर्छन्, तर युवराज शकुनी यसलाई आफ्नो कुल र राष्ट्रकै अपमानको रूपमा लिन्छन् र विरोधमा उत्रन्छन्। यस विषम अवस्थामा गान्धारीले नै आफ्नो बुद्धिमत्ताको परिचय दिन्छिन् र राष्ट्र तथा परिवारलाई नै भीषण शंकटबाट जोगाउँछिन्। राजा सुवलले कन्या नदिएको खण्डमा युद्ध निश्चित् थियो र यस युद्धमा गान्धारको पराजय अवश्य हुने थियो। पराजय पश्चात् एक युवराज्ञीको स्थिति एक दासीको भन्दा कम हुने थिएन र अपमानित र दासी बराबरको हैसियतमा धृतराष्ट्रको पत्नी हुनु राजकुलको युवराज्ञीको लागि सोभाजन्य हुँदैन थियो। अर्कोतिर युद्ध भएमा गान्धार राज्यका सेना, नागरिक मारिनुका साथै गान्धारकै अस्तित्व समेत नामेट हुने स्थिति थियो।
यी दुवै त्राणबाट मुक्त गर्न गान्धारीले अन्धा धृतराष्ट्रलाई वरण गर्नुमा गान्धारीको बुद्धिमत्ता देखिन्छ। एकातिर उनले आफ्नो राज्यलाई विध्वंसबाट बचाइन् भने अर्कोतिर हस्तिनापुरमा सम्मानित प्रवेश पनि पाइन्। आफ्ना पति अन्धा भएकाले उनले आजीवन आँखामा पट्टि बाँध्ने निर्णयले पनि उनलाई आदर्शवान, सत्यनिष्ठ, धर्मनिष्ठ र न्यायप्रेमी नारीको रूपमा प्रस्तुत गरेको छ। अन्धा पति समान रहन आँखामा पट्टि बाँध्नाले एकातिर उनले पतिको अवस्थालाई सम्मान र न्याय गरेको देखिन्छ भने रूप, यौवन र सुन्दरताको मापक अन्तरचक्षु हो भन्ने सन्देश दिएर आदर्श पत्नीको उदाहरण दिएकी छिन्। पति अन्धो भएपछि पत्नी पनि संसार हेर्न अधिकार विहीन हुन्छ भन्दै पतिको लागि इन्द्रियसुखको त्यागले गान्धारीलाई धर्मनिष्ठ र न्यायप्रेमी नारीको रूपमा प्रस्तुत गरेको छ। तर परिस्थितिवस गान्धारीले एक पटक यो पट्टि खोल्न बाध्य भएकी छिन्।
एक कथाअनुसार विवाह पश्चात् धृतराष्ट्रले गान्धारी विधवा भएको (अज विवाह) जानकारी पाएपछि सासु ससुरा र शकुनी तिनैजनालाई कैद गरेका थिए। उनको ध्येय सायद मृत्युदण्ड नै दिने थियो होला, तर नाता सम्बन्धको कारणले भोकभोकै मरुन् भनेर उनले तिनैजनालाई एक छाक अल्प-आहार दिने आदेश दिएका थिए। वास्तवमा राजा सुबल पनि अन्धा धृतराष्ट्रसंग गान्धारीको विवाह हाेस् भन्ने पक्षमा थिएनन्। आफ्नो दुर्बलताको कारणले उनले पनि अपमानको घुटको पिएका थिए।
त्यसैले कारागारमा रहेका बखत राजा सुबल र रानीले आफ्नो भागको खाना शकुनीलाई खुवाउँथे र शकुनीलाई आफूहरू मरे पनि यसको प्रतिशोध लिने प्रतिज्ञा गराएका थिए। आफ्नो प्रतिशोध र वचन शकुनीले नबिर्सिउन भनेर राजा सुवलले शकुनीको दायाँ खुट्टा आफैले भाँचिदिएका थिए। कारागारमै शकुनीको खुट्टा भाँचिदिएको अवस्थालाई मनन गर्दा त्यतिवेला शकुनी बालक अवस्थामा नै रहेको हुनपर्छ। राजा सुवल र रानी दुवैको मृत्युपछि दयावस या अन्तिम संस्कारको लागि शकुनीलाई मुक्त गरिदिए। मृत्यु पश्चात् लासलाई नजलाएर अङ्गहरू काटेर पशुपन्छि जलचरलाई खुवाउने चलन अद्यापी फारसी र सुदूरपश्चिमकाे हिमाली भेगतिर छँदैछ। सायद यो प्रचलन गान्धारतिरकै प्रचलन हो कि! किन भने शकुनीले पनि राजा सुवलको पार्थिव शरीरलाई नजलाएर उनको तिघ्राको हाड निकालेर पासा बनाएका थिए। यही पासा महाभारत युद्धको कारक द्युतकृडामा प्रयोग भएको थियो।
विवाह पश्चात् शिव भक्तिनी गान्धारी आफ्नो आचरणले पतिको प्रिय हुनुको साथै सबैको मन जित्न सफल हुन्छिन्। पाण्डु धृतराष्ट्रलाई प्रतिनिधि बनाएर वनमा गएका अवस्थामा नै गान्धारी गर्भवती हुन्छिन्। उता नियोग विधिद्वारा कुन्तीले युधिष्ठिर जन्माउछिन्। यो खबरले दुई वर्षदेखिको गर्भवती गान्धारीमा नारी सुलभ इर्ष्या उत्पन्न हुन्छ र मुडकी हानेर गर्भ झार्दछिन्। ऋषि व्यासबाट सतपुत्रको वरदान पाएकी गान्धारीको यो क्रियाले व्यास व्यथित हुन्छन् र सय घृतघडामा अधिग्रोका सय टुक्रा राखेर सय सन्तान हुनेमा आश्वस्त पार्दछन्। उक्त सय घडाबाट उनान्सय पुत्र र एक पुत्रीको जन्म हुन्छ।
कुन्तीले दुर्वासा ऋषीबाट देवहूती बिद्या (बसिकरण, सम्मोहन मन्त्र) पाएकी थिइन् । यही विद्याको प्रयोग गर्दा सूर्यबाट क्षेत्रज पुत्रको रूपमा कर्ण जन्मिएका थिए भने पाण्डुको अनुरोधमा कुन्तीले युधिष्ठिर, भीम र अर्जुन नियोग विधिद्वारा परुपुरुषबाट जन्माएकी थिइन्। पाण्डुले कुन्तीबाट यसका अतिरिक्त अरू सन्तानको पनि रहर गरे। तब कुन्तीले
नातश्चतुर्थ प्रसवमापत्स्वपि बदन्तत्युत
अतः परं स्वैरिणीस्याद् बन्की पञ्चमे भवेत्
स त्वं बिव्दन् धम्र्ममिम भधिगम्य कथं नु माम्
अपत्यार्थ समुत्क्रम्य प्रमादादिव भाषसे।
“बुद्धिमान आपतकालमा पनि चौथो प्रसव सन्तानको प्रशंसा गर्दैनन्, किनभने चौथो पुरुषसंग समागम गरे स्त्री व्यभिचारिणी र पाँचौ पुरुषसँग गमन गरे वेश्या हुन्छे,” भन्दै अस्वीकार गरिन्। यसैले माद्रीबाट नहकुल र सहदेवको जन्म भयो। यस आधारमा पाण्डुका पाँचै पुत्रहरू र कुन्तीको प्रथम पुत्र कर्ण पनि क्षेत्रज सन्तान नै थिए। यसका विपरीत गान्धारीका सबै सन्तान औरस सन्तान हुन्। हिन्दु धर्म अनुसार अहिल्या तारा द्रौपदी कुन्ती मन्दोदरीलाई पञ्चकन्या मानिन्छ। एक मन्त्रमा त यी पञ्चकन्याको नाम बिहानै उच्चारण गरेमा महापातक पनि नाश हुन्छ भनिएको छ।
अहिल्या द्रोपदी कुन्ती तारा मन्दोदरी तथा
पंचकन्या स्मरेन्नित्यं महापातकनाशनम्
तर यी पाँचैजना बहुभोग्या भएका हुँदा यिनीहरूभन्दा गान्धारी धेरै माथिल्लो तहको पतिव्रता मान्न सकिन्छ।
गान्धारीको अधिग्रो राखिएको सतघृतघडाबाट पहिले दुर्योधनको जन्म भयो। युधिष्ठिर जन्मिएको दुईवर्ष पश्चात् दुर्योधन र भीम एकै समय जन्मिएका थिए तर भीम दुर्योधनभन्दा कान्छा थिए। दुर्योधन पश्चात् अन्य अन्ठान्नब्बे पुत्र र एक पुत्री दुःशालाको जन्म भयो। दुर्योधन जन्मने बित्तिकै गधाले रोएझैँ रोएका थिए र विभिन्न अपशकुनहरू देखिएका थिए। राजपरिषद, ज्योतिष र विदुरको सल्लाह अनुसार धृतराष्ट्रलाई कूलसंहारक दुयोधनलाई त्याग गर्ने याचनायुक्त अनुरोध सर्वप्रथम गान्धारीले नै गरेकी थिइन्। पुत्र, त्यो पनि प्रथम पुत्र परित्याग गर्नु कुनै पनि आमाको लागि सहज कार्य अवश्य होइन तर गान्धारीले जगतकल्याणको लागि यो कार्य पनि गर्न तत्पर भइन्। गान्धारीको यो सोचमा धर्म, नीति, निष्पक्षता र लोककल्याणकारी भावना को अनुपम समन्वय देखिन्छ।
पाण्डुको मृत्यु पश्चात् वनमा रहेका कुन्ती र पाण्डुका पाँच पुत्रहरूलाई दरबारमा ल्याएर राजकुल अनुसारको यथोचित शिक्षा दिने सल्लाहको सुत्रपात पनि गान्धारीले नै गरेकी थिइन्। सय पुत्रका (युयुत्स दासीबाट) पिता अन्धा धृतराष्ट्र गद्दिमा थिए। उनलाई पाण्डुपुत्रहरुको कुनै आवश्यकता नै थिएन। आफ्नो अन्धोपनको कारणले जेठो भएता पनि भाइ राजा बन्नु र आफू राजा बन्न नपाउनु धृतराष्ट्रको दुर्भाग्य थियो, र प्रारब्धले उनी प्रतिनिधि राजाबाट राजा नै भए। अर्कोतिर आफू अन्धा भए पनि उनका जेठा छोरा दुर्योधन सनेत्र थिए। त्यसैले युवराजको हक त दुर्योधनकै थियो। यस्तो अवस्थामा पुत्रमोह र शक्ति प्राप्तिको लालसाले धृतराष्ट्रले पाण्डुपुत्रको अवस्थाबारे आँखा चिम्लनु स्वाभाविक नै हो तर गान्धारी यहाँ पनि कुल मर्यादा र न्यायको पक्षमा उभिएकी छिन्।
गान्धारी पतिब्रता हुनुका साथै निर्भीक र न्यायप्रिय पनि थिइन्। राज्यको भागबण्डापछि राजसभामा द्रौपदी माथि भएको अत्याचारको विरोधमा सर्वप्रथम मुख खोल्ने व्यक्ति नै गान्धारी नै थिइन्, जब कि भिष्म लगायत अन्य सबल पात्रहरू मौन थिए। दोस्रो पटकको द्युत क्रिडाको पनि गान्धारीले विरोध गरेकी थिइन्। धर्म नीति र निष्पक्षताको मर्म बुझेकी गान्धारीले दुर्योधनको जन्म र अलच्छिनका संकेतहरुको व्याख्या गर्दै द्युत नरोके यसले अनिष्ठ हुने भन्दै द्युतको आमन्त्रण रोक्न भनेकी थिइन्। कृष्णको शान्ति प्रस्तावलाई स्वीकार गर्न गान्धारीले, “यतो कृष्ण ततो जय” भन्दै दुर्योधनलाई बारम्बार सम्झाएकी थिइन्। गान्धारी दूरदर्शी थिइन्। पाण्डवहरूसँग युद्ध भएमा निस्कने परिणामको अन्दाज उनले सुरुमै लगाएकी थिइन्।
महाभारत युद्धको अन्त्यतिर दुर्योधनलाई आफ्नो अगाडि निर्वस्त्र आउने आज्ञा दिनुमा गान्धारीको पुत्र मोह देखिँदैन। गान्धारी पतिब्रता थिइन र पतिको सुखको कामना गर्दथिन्। आफ्ना अन्ठान्नब्बे पुत्रका मृत्यु पश्चात् पनि विह्वल नभएकी गान्धारी पतिको पुत्रमोहको कारणले दुर्योधनको मृत्युमा पतिलाई पर्न जाने शोक र अनिष्ठले भयभित भएर नै दुर्योधनलाई आफ्नो तपको बलले अजेय बनाउन चाहन्थिन्। यदि पुत्रमोहमा भएकी हुँदी हुन् त युद्ध अगावै दुर्योधनलाई विजयको आशीर्वाद दिन्थिन् होली। तर गान्धारीले दुर्योधनलाई कहिल्यै विजयको आशीर्वाद दिइनन्। गान्धारीले विवाह पश्चात् पहिलो पटक नेत्र उघारिन् र गुप्ताङ्ग माथि केराको पात बेह्रिएको भाग बाहेक दुर्योधनको शरीरलाई आफ्नो तपबलले फलामको बनाइदिइन्। दुर्योधन निर्वस्त्र नआउनुको कारण बुझेपछि दोष सहितको दुर्योधनलाई यसपटक पनि गान्धारीले विजयको आशीर्वाद भने दिइनन्। युद्ध पश्चात् चरणस्पर्श गर्न झुकेका युधिष्ठिरको खुट्टामा पट्टीको चेपबाट गान्धारीको नजर पर्नासाथ युधिष्ठिरको खुटटका नङहरू काला भएका थिए। यति शक्तिशाली पतिव्रता शिवभक्तिनी गान्धारीले चाहेको भए दुर्योधनलाई अजयको बरदान दिन सक्थिन्। तर उनले यहाँ पनि धर्मपरायणता देखाइन्। त्यसैले पतिसुखको लालसामा व्यग्र गान्धारीले पुत्रमोहको त्याग गरेर विधाताको विधिलाई स्वीकार गर्ने गान्धारी अन्य नारी पात्रहरू भन्दा धीर, विद्वत र न्यायप्रिय देखिन्छिन्।
द्रौपदीले दुःशासनको छातीको रगतले आफ्नो कपाल धुने प्रण गरेर जहाँ पाण्डुपुत्रहरूलाई प्रतिशाेधको लागि उक्साइ रहन्थिन्, त्यहीँ गान्धारी भने सबै घटनाहरूको मूल्याङ्कन गरेर शान्त देखिन्छिन्। महाभारत युद्धपश्चात् आशीर्वाद लिन आएका पाण्डुपत्रहरूसँग पनि उनको रोष थिएन। गान्धारी केवल अमर्यादित तवरले गदायुद्धको नियम विपरीत नाभीभन्दा मुनि दुर्योधनलाई प्रहार गरेकोमा क्रुद्ध थिइन्। भीमले यसको लागि क्षमा मागे पश्चात् उनले भीमलाई माफ गरिन्। दुःशासनको रगत अमानवीय तरिकाले पिएकोमा भीमले “त्यो केवल त्रास उत्पन्न गर्नको लागि प्रतिज्ञाबद्ध भएकोले गरेको” भन्दा गान्धारीबाट क्षमा पाए। यसरी गान्धारी सहनशीलता र क्षमामा पनि बिशिष्ठ देखिन्छिन्।
गान्धारी अद्भुत गरिमामय गुणले युक्त भएता पनि भित्र सरल नारी हृदय थियो। युद्धभूमिमा विधवाहरूको क्रन्दनयुक्त विलापले उनलाई पनि आक्रान्त बनायो। सबै घटनाको मूल कर्ता कृष्ण नै हो भन्नेमा कुनै दुविधा थिएन र गान्धारीलाई पनि यो कुरा अनुमान गर्न गाह्रो भएन। महाभारतको युद्ध रोक्न समर्थ केवल कृष्ण मात्र नै थिए। कृष्ण विधाता थिए। “जे पनि गर्न सक्ने विधाताले अधर्ममाथि धर्मको सदैव विजय हुन्छ भन्ने प्रमाणित गर्न यति ठूलो युद्ध, विध्वंस र करोडौँजनको हत्याको मञ्चन गर्नु पर्ने आवश्यकता थिएन” भन्ने गान्धारीको मत वास्तवमै सत्य थियो। यसैले विधाता समान कृष्णप्रति गान्धारीको मानवीय रोष उठनु र अभिषाप दिन तत्पर हुनु स्वाभाविक नै देखिन्छ।
तर यहाँ पनि गान्धारीले आफ्नो मर्यादा, विवेक र धर्मनिष्ठतालाई डग्न दिएकी छैनन्। उनले कृष्णसँग अभिषाप दिने आज्ञा मागेकी छिन् र कृष्णबाट आज्ञा पाए पश्चात् मात्र यदुकूलको सर्वनासको श्राप दिएकी छिन् जसलाई कृष्णले तथास्तु भन्दै शिरोधार्य गरे। महाभारत युद्ध पश्चात् यस अघिका विज्ञान, आविष्कार र सबै अस्त्रहरू समाप्त भए। गान्धारीले कृष्णलाई श्राप दिए पश्चात् गान्धारीको पनि सम्पूर्ण संचित तपको नास भयो, कृष्णको मृत्युपछि अर्जुन वलहीन भए र अन्य सबै सामान्य जन बराबर भए। गान्धारीले, “भूतले स्थान रिक्त नगरेसम्म वर्तमानले स्थान पाउँदैन” भन्दै युधिष्ठिरको राज्याभिषेकपछि धृतराष्ट्रा, गान्धारी, कुन्ती र विदुरलाई लिएर तपस्या गर्न वन प्रस्थान गरे र यही वनको आगोले जलेर सबैको मृत्यु भयो। गान्धारीले अन्त्यसम्म पनि पतिको सानिध्य, सेवा र पतिव्रता धर्म छोडिनन् र पतिसँगै मरिन्। गान्धारी निश्चय नै महाभारतका नारी पात्रहरू मध्यै सबैभन्दा प्रमुख र अनुपम नारी पात्र हुन्।


























