काठमाडौं, चैत्र २७ । काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर भोली र पर्सि जान दिने निर्णयबाट सरकार पछि हटेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय प्रदेश सरकारहरुले विरोध गरेपछि पछि हटेको हो।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी राख्दै काठमाडौंबाट भोलि र पर्सि बाहिर जान दिने निर्णय नभएको दाबी गरे। तर, विहिबार समितिका संयोजक पोखरेलको नेतृत्वमा बसेको केही मन्त्रीहरूको अनौपचारिक बैठकले भोली र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो।
यसको प्रक्रिया गृह मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेर टुंगो लगाउने जानकारी पोखरेलको सचिवालयले नै दिएको थियो। त्यही निर्णय अनुसार बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेको नेतृत्वमा सरोकारवालाबीच मन्त्रालयमा बैठक पनि बसेको थियो।
बैठकमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहभागी थिए।
गृह सचिव न्यौपानले उपत्यका बाहिर लैजानको निम्ती योजना बनाउन अनुरोध गरेका थिए। त्यही बिचमा कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ उपप्रधानमन्त्री पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगे। उनले तत्काल पठाउन सम्भव नभएको जानकारी गराए।
काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाए। पोखरेलले समेत काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए। मुख्यमन्त्रीसँगै सामाजिक सञ्जालमा समेत उक्त निर्णयको व्यापक विरोध भएको थियो।
तिव्र बिरोध भएपछि उच्चस्तरीय समन्वय समिति निर्णयबाट पछि हट्यो। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलले कुनै त्यस्तो निर्णय नभएको दाबी सहित सामाजिक सञ्जालमा जानकारी गराए।


























