चितवन, चैत्र २२ । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा लकडाउनलाई थप कडाई गरिने भएको छ। शनिबार बसेको मन्त्रीपरिषदको बैठकले एउटै जिल्लाभित्रै पनि एउटा स्थानीय तहदेखि अर्को स्थानीय तहसम्म जान नपाउने गरी कडाई गर्ने निर्णय गरेको हो। ‘हाल कायम रहेको लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावत रोक्ने निर्णयसमेत गरेको छ,’ शनिबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको फेसबुक पेजमार्फत जानकारी गराएको हो।
उक्त बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको र्यापिड परीक्षण गर्ने र र्यापिड परीक्षणमा पोजेटिभ देखिएकालाई पुन पिसिआर विधिबाट परीक्षण गर्नेसमेत निर्णय गरेको छ। शनिबार एकैदिन कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोनाको संक्रमण देखिएपछि सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो। नेपालमा हालसम्म एक हजार ५२१ जनामा कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ। तीमध्ये एक जना निको भइसकेका छन् भने बाँकी ८ जना उपचाररत छन्।



























