काठमाडौं, चैत्र १६ । सरकारले कोरोना प्रभावितहरुका लागि राहतको कार्यक्रम घोषणा तयारी गरेको छ।
आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राहतका कार्यक्रम स्वीकृतिका लागि पेश गर्ने बताइएको छ। कोरोना भाइरसका कारण देश गत मंगलबारदेखि लकडाउनमा रहँदा सामान्य जीवनयापनदेखि उद्योग व्यवसाय ठप्प प्राय छन्।
अब के हुन्छ ? सबैको चिन्ताको विषय यही नै छ। नगद या खाद्य सामग्री दुवै विकल्प खुला राखेर दैनिक ज्याला र मजदूरी गर्नेलाई राहतको प्रस्ताव अर्थमन्त्रीले गर्नु पर्ने विज्ञहरुले जोड दिँदै आएका छन्। यसको साथै देशको पर्यटन उद्योग व्यापार लगायत सम्पर्ण क्षेत्रमा राहत प्रदान गर्नु पर्ने चुनौती पनि अर्थमन्त्री खतिवडा सामु रहेको छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले अहिले सरकारले उद्योग बाणिज्य क्षेत्रका लागि शर्ट टर्म राहत प्रदान गर्नुपर्नेमा जोड दिए। उनले तत्कालका लागि सरकारले यतिमात्रै गरेमात्र गरेपनि ठूलो राहत मिल्ने उनले बताए।
यस्तै लोन रिसेडिउलिङ्ग र बैंक ब्याज दरलाई ३ देखि ४ प्रतिशत सम्म घटाउने सके पनि केहि राहत हुने उनको भनाइ छ। कोरोनाले अर्थतन्त्र र उद्योग व्यापार लगायत सम्पूर्ण क्षेत्रमा कस्तो प्रभाव पर्ने हो त्यसको पूर्ण मूल्यांकन गर्ने अवस्था नभएको हुँदा शर्ट टर्म राहत उपयक्त हुने अध्यक्ष मोरको तर्क छ।
अध्यक्ष मोरले भने, ‘सरकारले सम्पूर्ण शक्ति सर्वसाधरण जनतालाई राहत प्रदान गर्न लगाउनु पर्छ, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई पनि सरकारले सदुपयोग गर्न सक्नु पर्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो एक् बजेपछि कोरोना रोकथाम विशेष उच्चस्तरीय समितिको बैठक बस्ने र त्यसपछि ४ बजे मनित्तपरिषद् बैठक बस्ने तयारी भएको बताए।
उनले लकडाउन र कोरोनाको प्रभावबाट सम्पूर्ण जनतालाइ कसरी उकास्ने भन्नेमा नै सरकारको पहिलो प्राथमिकता रहेको बताए। यो नियमित बैठक हो तर परिस्थिति हेरेर देश र जनताकै हितमा सरकारले कार्यक्रम ल्याउने थाले बताए।
विश्वका धेरै देशले आफ्ना नागरिकलाई राहत घोषणा गरिसक्दा नेपाल सरकारले कुनै ठोस कदम नचालेको भनेर आलोचना हुँदै आएको थियो। आइतबार अर्थमन्त्री डा युवराज खतिवडाले कस्तो राहत प्याकेज लाउलान् भन्नेमा सबैको ध्यान उनीतर्फ सोझिएको छ।


























