काठमाडौं, चैत्र १६ । मन्त्रिपरिषदको बैठक आइतबार बस्दै छ। बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्ने बताइएको छ।
यसअघि चैत ९ गते मन्त्रिपरिषद बैठक बसेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्नुपूर्व कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरेर त्यसैले आवश्यक निर्णय लिइरहेको थियो। विभागीय मन्त्री सम्मिलित समितिले आवश्यक निर्णय लिइरहेकाले मन्त्रिपरिषद बैठक बस्नु नपरेको स्रोत बताउँछ।
आज बस्ने मन्त्रिपरिषद बैठकले समितिले गरेको कामको समीक्षा र थप तयारीका विषयमा निर्णय लिने बताइएको छ।
आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गर्ने तयारी रहेको स्रोतको दाबी छ। त्यस्तै लकडाउनका कारण मर्कामा परेको न्यून आय भएका, दैनिक ज्यालादारी परिवारलाई राहत प्याकेजको घोषणा गर्ने पनि सरकारको तयारी छ।