वीरगञ्ज, चैत्र १४ । पर्सा राष्टिय निकुञ्जमा तस्कर र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ। घटनामा नेपाली सेनाका एक जमदार घाइते भएका छन्।
राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ्ग छन्। मृतकको अहिलेसम्म पहिचान हुन नसकेको राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना उपसचिव विष्णु श्रेष्ठले बताए।
पर्सा वन्यजन्तु राष्टिय निकुञ्जको कोर एरियामा आज विहान ९ बजे तस्कर र सुरक्षाकर्मीबीच भिडन्त भएको हो। सुरक्षाकर्मीले दुई थान बन्दुक समेत बरामद गरेका छन्।
“कोर एरियामा बन्दुकको आवाज आएको सुनेपछि सुरक्षाकर्मी त्यता जाँदा, तस्करले सुरक्षाकर्मी माथि आक्रमण गरे,” श्रेष्ठले भने। उनका अनुसार तस्करहरु ११ जना थिए।
बन्दको मौका छोपेर वन्यजन्तुको चोरी सिकारी हुनसक्ने सम्भावनालाई ध्यान राखेर गस्तीलाई बाक्लो बनाइएको श्रेष्ठले बताए।


























