दाङ, चैत्र १४ । कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनको उलंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। अटेरी गरेर सडकमा निस्कने, भिडाभाड गर्ने र सवारीका साधन चलाउनेलाई नियन्त्रणमा राखिएको छ।
लकडाउनको दोस्रो दिन ९८ जना नियन्त्रणमा लिइएका व्यक्तिहरु मध्य ५० जनाले हिरासतमा रात बिताएका छन्। पक्राउ परेर छुटेका ४८ जना बालबालिका, जेष्ठ नागरिक, महिला र बिरामी परेका कारण उनिहरुलाई अब बाहिर ननिस्कने सर्तमा परिवारको जिम्मा लगाईएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिए।
वडा प्रहरी कार्यालयमा ३९ जना र जिल्ला प्रहरी कार्यालयमा १५ जनालाई हिरासतमा राखिएको छ। उनिहरुलाई पहिलो चरण भएको भन्दै सख्त चेतावनी दिएको र रेकर्ड राखेर अर्को पटक बाहिर भेटिए सार्वजनिकहित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुरमा कार्वाही हुने प्रहरीले चेतावनी दिइसकेको छ।
अब पनि अटेर गर्नेलाई ६ महिना देखी १० बर्ष कैद र जरिवाना समेतको कानुनमा मुद्धा दर्ता गरेर कार्वाही गरिने दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए। प्रहरी हिरासतमा रहेकाहरुलाई सख्त चेतावनी दिएर छोड्ने तयारी भएको प्रहरीको भनाई छ।