चैत्र १३ । यसरी नै कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गए यसै हप्ता चीनलाई अमेरिकाले उछिन्नेछ। चीनमा संक्रमितको संख्या ८१ हजार कटेको छ। अमेरिकामा एकै दिन दश हजार संक्रमित भेटिएपछि संख्या बढेर ६८ हजार पुगेको हो। चीनमा नयाँ संक्रमितको संख्या न्यून देखिएको छ। उसले कोरोना भाइरस नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरिसकेको छ।
अमेरिकामा सबैभन्दा खतरनाक अवस्था न्युयोर्कमा छ। त्यहाँ संक्रमितको संख्या ह्वात्रै बढेको छ। अमेरकामा एक हजार ३२ व्यक्ति कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउन पुगेका छन्। जुन चीनमा ज्यान गुमाएकाको तुलनामा तीन गुना कम हो।
अर्को रोचक पक्ष भनेको चीनको हुबई प्रान्तमा बुधबार कुनै नयाँ संक्रमित भेटिएको तथ्यांक छ। हुबईको वुआन क्षेत्र कोरोना भाइरसको उद्गमस्थल मानिन्छ। त्यहाँ तीन महिना अघि संक्रमण पत्ता लागेको थियो।
विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र भएका मुलुकबीच कोरोना भाइरसको विषयमा शितयुद्ध नै चलेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरसलाई चाइनिज भाइरस भनेपछि चीनले माफी माग्न भनेको थियो। चिनियाँ कुटनीतिज्ञले पनि अमेरिकी सैनिकले भाइरस फैलाएको आरोप लगाएका थिए। दुई देशबीच आरोप प्रत्यारोप भइरहँदा चीनलाई अमेरिकाले भाइरस संक्रमितको संख्यामा उछिन्न लागेको हो। शनिबारसम्म अमेरिकाले चीनलाई संक्रमितको संख्यामा उछिन्ने आँकलन गरिएको छ।


























