काठमाडौं, चैत्र १२ । सरकारले लकडाउनको अवधि बढाउने तयारी थालेको छ। एक मन्त्रीले दिएको जानकारीअनुसार अहिले घोषणा गरिएको एक साताको लकडाउन अवधि अझै दुई साता थप्ने सरकारको योजना छ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार राति बसेको बैठकले हिजो मंगलबार बिहानबाट चैत्र १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो। भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र निधन हुनेको संख्यासमेत दश पुगेकोले भारत सरकारले हिजोबाट तीन साता लकडाउनको घोषणा गरेको छ।
नेपालमा जतिपनि संक्रमणको केश छन्, ती सबै विदेशबाट आयात भएको हो। तीन जनाको केशमा उनीहरुले रोग ल्याएको देखिएपनि नेपालमा अन्यलाई अहिलेसम्म सारेका छैनन्। यो सुखद अवस्था हो। परराष्टमन्त्री प्रदीप ज्ञवालीले सरकारले सुरु गरेको एक साताको लकडाउन आवश्यकत्ताअनुसार थप्ने संकेत गरेका छन्। उच्चस्तरीय समन्वय समितिको बैठक आजपनि बसिरहेको छ। आजको बैठकमा अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदबारे छलफल भैरहेको बुझिएको छ।
सरकारले एक साता लकडाउन गरेपछि काठमाडौं उपत्यका सुनसान छ। मंगलबार विहान ५ बजेदेखि लकडाउन गरेपछि काठमाडौंमा अत्यावश्यक सवारी साधनबाहेक अन्य चलेका छैनन्। यता, नेपालमा पनि संक्रमितको संख्या तीन पुगेको छ। एक जना सफल उपचारपछि घर फर्किएका छन् भने बाँकी दुई जनाको आईसोलेशनमा राखेर उपचार भैरहेको छ। आज मात्र नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
तीनजनामध्ये पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए। उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए। परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आशोलेशनमा बसेका थिए। नेपालगञ्ज स्थायी घर भएका पहिलो संक्रमित अहिले स्वस्थ भई सामान्य जीवनयापनमा फर्किइसकेका छन्। उनी संक्रमित भएको डेढ महिनासम्म कोही संक्रमित नभएको तथ्यांक आयो। तर, यसै हप्ता लगातार दुईजना संक्रमित भेटिएका छन्।
दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन्। काठमाडौं मैतीदेवी स्थायी घर भएकी उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन्। भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन्। उनको परीक्षणमा कोरोना भाइरसको सक्रमण भेटिएको थियो। अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन्।
तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार पुष्टि भएको छ। ती व्यक्तिको बारेमा वृस्तृत विवरण आउन बाँकी छ। तर, उनीपनि वैदेशिक रोजगारीको लागि विदेशमा थिए। उनी चैत्र ५ गते काठमाडौं आएका थिए।


























