चितवन, चैत्र १२ । कोराना रोकथामका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी अनावश्यक काममा चलाइएका १९३ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मध्याह्न १२ बजेसम्म तीमध्ये लकडाउनको उल्लंघन गर्ने र अटेर गर्ने १५ जनालाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उल्लंघन गर्नेमा १ सय ६८ मोटरसाइकल, स्कुटर १०, बलेरो २, म्याजिक बस १, अटोरिक्सा ५, ट्र्याक्टर ३ र ट्रक २ वटा छन्। तीमध्ये अधिकांशलाई एकपटकका लागि सम्झाइ–बुझाइ पठाइएको र १५ सवारीचालकलाई कारबाहीका लागि पठाइएको हो।
साथै चितवन प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका पैदलयात्रीलाई समेत सम्झाइ–बुझाइ गरी घर फर्काइएको कोइरालाले जानकारी दिए।
अत्यावश्यक सेवा र पासका सवारीसाधन मात्रै चल्न पाउने, अन्यलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ। कारबाही प्रक्रिया थालिएसँगै मंगलबारभन्दा बुधबार सडकहरू सुनसान देखिएका छन्।