चितवन, चैत ६ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले यतिबेला चीनभन्दा पनि इटलीलाई आक्रान्त बनाएको छ। शुक्रबार राति ११ बजेसम्मको तथ्यांक हेर्दा करिब तीन महिनाअघि वुहानबाट सुरू भएको भाइरसका कारण इटलीमा मात्रै चार हजार ३२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् भने चीनमा जम्मा तीन हजार २४८ जनाले ज्यान गुमाएका छन्।
बिरामीको संख्या चीनमा धेरै भए पनि मृतकको संख्या भने इटलीमा धेरै देखिन्छ। चीनको तुलनामा इटलीमा आधा बिरामी छन्। चीनमा कोरोना भाइरसबाट संक्रमित बिरामीको संख्या ८० हजार ९६७ जना रहेका छन् भने इटलीमा जम्मा ४७ हजार २१ जनामा यसको संक्रमण देखिएको छ। जसमध्ये चीनमा ७१ हजार १५० जना बिरामी निको भएर घर फर्किइसकेका छन् भने इटलीमा जम्मा पाँच हजार १२९ जना बिरामी मात्रै निको भएर घर फर्किएका तथ्यांक छ।
नयाँ बिरामी पनि इटलीमै धेरै
नयाँ बिरामीको संख्या पनि इटलीमा सबैभन्दा बढी देखिएको छ। इटलीमा मात्रै नयाँ बिरामीको संख्या पाँच हजार ९८६ जना देखिएको छ। यसले पनि इटली थप त्रसित बनेको छ। कोरोना संक्रमणका कारण गम्भीर भएका बिरामीको संख्या पनि चीनमा भन्दा इटलीमा नै धेरै देखिन्छ। चीनमा जम्मा दुई हजार १३६ जना गम्भीर छन् भने इटलीमा दुई हजार ६५५ जना बिरामी गम्भीर छन्। यस्तै उपचारमा रहेका बिरामीको संख्या चीनमा जम्मा छ हजार ५६९ जना छन् भने इटलीमा ३७ हजार ८६० छन्।
चीनमा भने नयाँ संक्रमितको संख्या जम्मा ३९ जना छन्। सबैभन्दा बढी नयाँ संक्रमितको संख्या इटलीपछि जर्मनीमा देखिएको छ। जर्मनीमा शुक्रबार राति ११ बजेसम्मको तथ्यांक हेर्दा नयाँ संक्रमितको संख्या तीन हजार ४७४ पुगिसकेका छन्। त्यसपछि क्रमैसँग अमेरिका, स्पेन, इरान, स्वीटजरल्याण्डलगायतका देशमा नयाँ संक्रमितको संख्या बढी छ। ती देशहरुमा क्रमशः दुई हजार ७००, दुई हजार ३३५, एक हजार २३७ र ९४२ जना देखिएका छन्।
दुई लाख ६६ हजारमा संक्रमण पुष्टी
यतिबेलासम्म विश्वभर दुई लाख ६६ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। तीमध्ये ९० हजार ६०३ जना बिरामी निको भएर घर फर्किइसकेका छन् भने सात हजार ७९३ जनाको अवस्था गम्भीर छ। एक लाख ६४ हजार ८१ जना उपचाररत छन् भने २० हजार २६९ मा थप संक्रमण देखिएको छ।
मृतकको संख्या ११ हजार नाघ्यो
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भने दिनानुदिन बढ्दै गएको छ। यतिबेलासम्म मृतकको संख्या ११ हजार १८६ जना पुगिसकेको छ। (तथ्यांकः वर्ल्डोमिटर)


























