काठमाडौं, चैत्र ५ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई बिदा नबस्न निर्देशन दिएको छ। अन्य कर्मचारीले पनि अत्यावश्यक अवस्थामा मात्र बिदा पाउने भएका छन्। कसैलाई संक्रमण देखिएमा व्यवस्थापनतर्फ लाग्नुपर्ने भएकाले बिदा रोकिएको हो।
सीमा क्षेत्रका प्रहरी कार्यालयका इन्चार्जलाई पनि बिदा बस्न रोकिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए। प्रहरी प्रधान कार्यालयले नेपालमा कोरोना संक्रमण देखिएमा आफ्नोतर्फबाट कसरी व्यवस्थापन गर्ने भनेर कार्ययोजना नै बनाइएको छ। सम्भावित संक्रमणबाट जोगिन सतर्कताका उपायसमेत सिकाइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलले देशभरिका गणमा क्वारेन्टाइन कोठा बनाएको छ। शंकास्पद बिरामी (सर्वसाधारण र प्रहरी दुवै) लाई राख्न क्वारेन्टाइन बनाइएको हो। सबैजसो कार्यालयमा थर्मलगनबाट चेकजाँच सुरु गरिएको र संक्रमणबाट जोगिन निर्देशन दिइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले बताए।


























