चैत्र ५। अत्यावश्यकबाहेकका सेवाका लागि दूतावास नआउन अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अपिल गरेको छ। आउनै पर्ने भएमा एक्लै उपस्थित हुन उसले अनुरोध गरेको छ।
कोरोना संक्रमणबाट बच्न अस्ट्रेलियन सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेका बेला त्यहाँस्थित नेपाली राजदूतावासले १९ मार्चदेखि अत्यावश्यकबाहेकका काममा दूतावास नआउन अपिल गरेको हो।
दूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए हुलाकमार्फत पठाउन भनेको छ।
अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सहीछाप गरिनुपर्ने कामका लागि भने नेपाली दूतावास जान सक्नेछन्। तर, त्यसका लागि सर्त लागू हुनेछ।
क्यानबेरास्थित नेपाली राजदूतावासका अनुसार, अत्यावश्यकीय सेवा लिन आउने व्यक्तिले पहिले त्यसबारे टेलिफोनमार्फत जानकारी गराउनु पर्नेछ। यसरी जानकारी गराएका व्यक्तिले आफूमात्रै आएर बिहान १० देखि १ बजेभित्र सेवा लिनसक्नेछन्।
‘राजदूतावास आउनुपर्ने अत्यावश्यक काम भएमा टेलिफोन सम्पर्क गरी समय लिएर मात्र अफिस खुल्ने दिन बिहान १० देखि १ बजेसम्म आउने,’ कन्सुलर सेवासम्बन्धमा दूतावासद्वारा जारी सूचनाको तेस्रो बुँदामा भनिएको छ।
अत्यावश्यक अवस्थाबाहेकमा हिँड्डुल नगर्न पनि त्यहाँस्थित दूतावासले नेपालीलाई आग्रह गरेको छ।
विश्वव्यापी रूप लिएको कोरोना भाइरस अस्ट्रेलियाका लागि पनि टाउको दुखाइको विषय बनेको छ। वर्ल्डओमिटर्सका अनुसार, कोरोना संक्रमणबाट हालसम्म यहाँका ५ जना मानिसको ज्यान गइसकेको छ भने ४ सय ५२ संक्रमित छन्।
अस्ट्रेलियामा रहेका १ नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। ती नेपालीको हाल उपचार भइरहेको छ। कोरोनाको संक्रमण फैलिएपछि अध्ययन, रोजगारीलगायतमा आबद्ध नेपालीमा त्रास छाएको छ।






















