काठमाडौं, फागुन २८ । भूमिगतरुपमा आफ्ना गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा भएको विस्फोटको जिम्मा लिएको छ। बुधवार विहान ७ बजे ४० मिनेटको समयमा भक्तपुरको मनहरा फाँटस्थित बास्कोटाको घरमा बिस्फोट गराईएको थियो। विप्लव नेकपाले बास्कोटामाथी १० आरोप लगाउँदै विस्फोटको जिम्मा लिएको छ।
बास्कोटा विप्लव नेकपाको निशानामा रहेको सूचना नेपाल प्रहरीले पहिले नै पाएको थियो। तर उनको घरमा भएको विस्फोटको पूर्व जानकारी भने नेपाल प्रहरीले पाउन सकेन। विस्फोटका कारण घरमा क्षति पुगेको छ भने स्थानीय त्रसित बनेका छन्। बास्कोटालाई भ्रष्टाचारी भन्दै विप्लव नेकपाले विस्फोट गराएको स्वीकार गरेको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, २४ अर्बको सेटलाइट खरिदमा बास्कोटाले मोलमालाई गरेर कमिशन खाएको आरोप विप्लव नेकपाले लगाएको छ। विप्लव नेकपाले १० आरोप लगाउँदै उनको घरमा विस्फोट गराएको छ। विस्फोट रिमोट भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
यस्ता छन् बास्कोटामाथी विप्लव समूहका १० आरोप
१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।


























