काठमाडौँ, फागुन २५ । महिलाले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिकसहितका विभिन्न क्षेत्रमा झेल्नु परेका समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने र जागरुक बनाउने उद्देश्य अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हो। हरेक वर्ष यहि उद्देश्यसहित विश्वभर मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ।
महिलाको अवस्था र सहभागिता सामाजिक, राजानीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा बलियो बनाउँदै लैजानका लागि वकालत गर्ने अर्थात महिलाको सवलिकरणको पक्षमा आवाज बुलन्द गर्ने विशेष दिनको रुपमा मार्च ८ लाई लिने गरिएको छ।
विश्वमा महिलाका लागि अधिक सम्भावनाहरु रहेको तर त्यसको प्राप्तिका लागि पहुँचको सवाल कमजोर बनेकाले उद्देश्यपूर्ण सहकार्यबाट महिलाको सबलिकरण सम्भव हुने महिलाको सवलिकरणको पक्षमा काम गर्दै आएका संस्थाले बताउने गरेका छन्।
अहिले पनि विश्वमा महिलालाई लिंगकै आधारमा फरक व्यवहार गर्नेहरुको संख्या अधिक छ। पछिल्लो अध्ययनका अनुसार रहेक १० जनामा ८ जना महिलाप्रति पूर्वाग्रही रहेको पाइएको छ।
यो दिनलाई महिलालाई महिला भएकोमा लाज होइन गर्व गर्नु पर्छ भन्ने कुरालाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका महिलाको योगदानको कदर गर्ने दिनका रुपमा पनि लिइन्छ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सुरुमा सन् १९११ को मार्च १९ मा मनाइएको थियो। पहिलो अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा १० लाख भन्दा बढी महिला तथा पुरुषले र्याली गरेका थिए।
अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा अमेरिकाको सोसिअलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा घोषणा गरेको राष्ट्रिय महिला दिवसबाट प्रभावित भएको हो।
अर्को वर्ष अर्थात सन् १९१० मा विश्वभरका सोसिअलिस्ट डेनमार्कमा भेला भए र सहभागीले अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा पारित गरे। त्यसको अर्को वर्ष मार्च १९ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, त्यो बेला यसलाई कामकाजी महिलाको अन्तर्राष्ट्रिय दिवस भनिन्थ्यो। पहिलो महिला दिवसमा डेनमार्क, जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियामा र्याली भएका थिए।
पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हप्ता दिन पनि नपुग्दै अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ट्रिएन्जल सर्टवेस्ट फ्याक्ट्रीमा आगलागी भयो। त्यसमा १४६ जनाको ज्यान गयो, ज्यान गुमाउनेमा अधिकांश त्यहाँ कार्यरत आप्रवासी महिला थिए।
यो घटनाले उद्योगमा काम गर्ने अवस्था र परिवेशबारे मुख्य परिवर्तनको कारण बन्यो। त्यहि आगलागीमा मारिएका कामकाजी महिलाको सम्झनाको रुपमा पनि अन्तर्राष्ट्रिय महिला दिवस रहने गरेको छ। सुरुका वर्षहरुमा अन्तर्राष्ट्रिय महिला दिवस कामकाजी महिलाको अधिकार र उनीहरुको सबलीकरणका सवालमा केन्द्रित थियो।
रुसमा पहिलो पटक सन् १९१३ को फेब्रुअरीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो। सन् १९१४ मा पहिलो विश्व युद्ध सुरु भयो। मार्च ८ मा महिलाहरुले युद्ध विरुद्ध र्याली गरे। महिलाहरुले युद्धको समयमा विश्वभरबाट एकताको प्रदर्शन गरे।
सन् १९१७ को फेब्रुअरी २३ (रुस), पश्चिमी क्यालेन्डरमा भने मार्च ८ का दिन रुसका महिलाले महत्वपूर्ण बन्द आह्वान गरे। यसलाई जार शासन पतनको आधार विन्दु मानिन्छ। त्यसपछिका केही वर्ष पूर्वी युरोप र सोभियत युनियनमा मार्च ८ को दिन सार्वजनिक बिदा हुने गर्यो। बिस्तारै यो दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा स्वीकार्य हुँदै गयो।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७५ मा अन्तर्राष्ट्रिय महिला वर्ष मनाइयो। त्यसपछि सन् १९७७ मा संयुक्त राष्ट्रसंघले आधिकारिक रुपमा महिला अधिकारको उत्सवको रुपमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दियो। यो दिनलाई संयुक्त राष्ट्रसंघले ‘महिला अधिकारका क्षेत्रमा भएका प्रगतिको परिदृश्य दर्शाउन, परिवर्तनका लागि आह्वान गर्न र उत्प्रेरणा प्रदान गर्ने खालका कानुनको सम्मान गर्न तथा सामान्य महिलाले देखाएको लगनको जसले महिला अधिकारको इतिहासमा अतुलनीय योदान गरेका छन्, त्यो देखाउन’ मनाइने दिनको रुपमा उल्लेख गरेको छ।
सन् २०११ मा अन्तर्राष्ट्रिय महिला दिवसको १०० वर्ष पूरा भएको अवसरमा विश्वभर विविध कार्यक्रम भए। त्यसपछिका वर्ष अन्तर्राष्ट्रिय महिला दिवसले थप सघन रुप लिइएको छ।
संयुक्त राष्ट्रसंघले तय गरेको दीगोविकास लक्ष्य २०३० मा महिलामाथि महिला भएकै कारण हुने सबैप्रकारका हिंसा वा विभेद अन्त्य गर्ने लक्ष्य राखिएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसलाई महिलावादी आन्दोलनको जन्मदाताको रुपमा पनि लिने गरिएको छ। विश्वभरका महिलाले यो दिनलाई आफ्ना अधिकारको खोजी र विभेद विरुद्ध बोल्ने दिनको रुपमा लिने गरेका छन्।


























