काठमाडौं,फागुन, २४ । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–९) को सम्भावित जोखिमलाई मध्येनजर गर्दै हर्ष र उल्लासका साथ मनाइने होली (फागू) मा लोला पानी फ्याँक्ने, शरीरमा रंग (अबिर) दल्ने कार्य नगर्न र नगराउन आग्रह गरेको छ।
शनिबार प्रेस विज्ञप्ती जारी गृहले बढी भीडभाड हुने प्रकृतिको सभा, सम्मेलन, भेला र कार्यक्रमलाई पनि हाललाई स्थगित गरिएको जनाउँदै रंगको पर्व होलीमा विगतको जस्तो भीडभाड र जम्मा हुने, लोला पानी फ्याँक्ने र अबिर दल्ने कार्य नगर्नरनगराउन आग्रह गरेको हो।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालसमेत उच्च जोखिममा रहेको हुनाले विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन आग्रह गरिसकेको छ। अहिलेसम्म नेपालमा (कोभिड–१९) को संक्रमण भएका तथ्य फेला नपरेको पनि गृहले जानकारी गराएको छ।
त्यस्तै, गृहले हल्ला र प्रचारबाजीको पछाडि नलागेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएको कोरोना भाइरसको लक्षण, सर्ने तरिका र बच्ने उपायका बारेमा सूचनाहरु आम नागरिकमा फैलाउन र सजगता अपनाउन आग्रह गरेको छ।
यसैबीच कोभिड–१९ को बारेमा अहिले फैलिरहेको अनावश्यक भ्रममा परी उपभोग्य बस्तुको खरीद र भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न गृहले आग्रह गरेको छ। त्यस्तै, कहिँकतै कालोबजारी, मूल्यबृद्धि र कृतिम अभाव भए/गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्नमा गृहले अपिल गरेको छ।
त्यस्तै, ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, श्वासप्रश्वासमा समस्या आउनुलगाएत (कोभिड–१९) को लक्षणहरु भएको गृहले जनाएको छ। यसैबीच सीमा नाका, अन्तर्राष्ट्रिय आवतजावत केन्द्रहरुमा प्रभावकारी स्वास्थ्य परीक्षण, रोगको निगरानी, अस्पतालको पूर्व तयारीलगाएत रोकथामका लागि गरिने सम्पूर्ण गतिविधिहरु सरकारले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको गृहले जानकारी गराएको छ।


























