काठमाडौँ, फागुन २४ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ।
कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन देशको सीमा नाकामार्फत हुने आवतजावतमा सुरक्षाकर्मीले थप निगरानी बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति अध्यक्ष गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हुने स्वास्थ्य परीक्षणमा सहयोग गर्ने, जनमानसमा कोरोना भाइरससम्बन्धी जनचेतना बढाउन सूचना सम्प्रेषण गर्ने तथा सरकारबाट गठित उच्चस्तरीय समन्वय समितिलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।
बैठकले दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरणका साथै महङ्गी तथा कालाबजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ।बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका उपरथी तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।
बैठकपछि गृहमन्त्री थापाले सीमा नाकामा कडाइ तथा निगरानी बढाउन र सशस्त्रको सीमा निगरानी पोष्टलाई थप सक्रिय बनाउन निर्देशनसमेत दिएका छन्। उनले जनचेतना बढाउन, कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएका छन्।


























