काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई बिहान १० बजे शल्यक्रियाकक्षमा लगिएको थियो।
डा. ज्ञवालीको नेतृत्वमा गरिएको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। त्यसमा झन्डै दुई दर्जन चिकित्सक सहभागी भए।
नयाँ मिर्गौला प्रत्यारोपण गरेपछि अब ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन्।
शल्यक्रिया गर्नुअघि डा. ज्ञवालीले बीबीसीसँग भनेका थिए, “वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।”
ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ मङ्गलवार भारतबाट आएका थिए।
बाह्र वर्षअघि ओलीले भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए।


























