चितवन, फागुन १९ । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ। महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिकस्थलमा सेवनमा प्रतिबन्ध लगाइएको जानकारी दिए। उनले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताए।
अनुगमन टोलीले शैक्षिक सङ्घसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भए/नभएको अनुगमन गरिरहेको छ। ती क्षेत्रका एक सय मिटरको वरपर सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयनमा महानगरका अधिकारी जुटेका हुन्।
महानगरका उपसचिव प्रद्युन्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिनजसो बजार अनुगमन गरिँदै आएको छ। अनुगमनका क्रममा ३५ मध्ये १३ पसलमा यस्ता सामग्री पाइएको र चुरोट सेवन गर्दै गरेका दुई व्यक्तिलाई समेत कारवाही गरिएको उनले जानकारी दिए।
महानगरपालिकालाई आगामी डिसेम्बरमा विशेष समारोहबीच धूम्रपानरहित शहर औपचारिक घोषणाका लागि तयारी थालिएको हो। महानगरप्रमुख रेनु दाहालका अनुसार धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ। गत महिना इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उनले भरतपुरलाई ‘स्मोक फ्री’ सिटी बनाइने प्रतिबद्धता जनाएका थिए।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ मा सार्वजनिकस्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जनस्थल, होटल, रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारी साधन र प्रतीक्षालयमा धूमपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णतः निषेध गरिएको छ। होटल रेष्टुरेन्टहरुमा तोकिएको स्थानमा मात्र यसको सेवन गर्न पाइनेछ। तोकिएका स्थानमा अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ। रासस

























