फागुन १९ । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ। ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन्।
चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ। योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ। ८० हजार भन्दा बढी संक्रमित भएका छन्।
चीन बाहिर अन्य १० मुलुकमा कोरोना संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ। चीनबाहिर १० हजारमा कोरोनाको संक्रमण देखिएको छ।
५० प्रतिशतले संक्रमण बृद्धि
इटालीमा कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ। कोरोनाको संक्रमण एकै दिन ५० प्रतिशतले बृद्धि भएको छ। त्यहाँ संक्रमितको संख्या १६ सय ९४ पुगेको छ। शनिबारसम्म संक्रमित हुनेको संख्या ११ सय २८ थियो।
सूचना लुकाउने पादरीसहित १२ जनामाथि अनुसन्धान
दक्षिणको कोरियामा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ४२ सय १२ पुगेको छ। सोमबार ४ सय ७६ जनामा कोरोनाका संक्रमण पुष्टि भएको करियाका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ।
जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्याउने विश्वासका साथ भाइरस सङक्रमण सारेको अभियोगमा धर्म गुरुहरुमाथी कोरिया सरकारले अनुसन्धान थालेको बीबीसीले जनाएको छ।
सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ।
इरानमा आइतबारसम्म ९ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ५४ जनाको मृत्यु भएको छ। यद्यपी मृतकको संख्या २ सय भन्दा धेरै भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले दावी गर्दै आएको छन्।
विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ३१ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ।
यसै साता कतार, साउदी इक्वेडर लक्जेबर्ग आइरल्याण्ड लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो। योसँगै कोरोनाबाट संक्रमित हुने मुलुकको संख्या ६४ पुगेको छ।


























