फागुन १७ । ‘रिलेसनसिप’मा प्रायः कसले पहिला ‘प्रपोज’ गर्छ? धेरैको उत्तर शायद पुरुष नै होला।
यस्तै अवस्था थियो, ईशाको पाँचौँ शताब्दीमा। त्यस बेला आयरल्यान्डमा सेन्ट ब्रिगेट (वा ब्रिगिट) नामकी एक महिला थिइन्, उनलाई अझसम्म पनि आयरल्यान्डमा निकै मानिन्छ।
सेन्ट ब्रिगेटले आफ्ना गुरु सेन्ट प्याट्रिकसमक्ष असन्तुष्टि व्यक्त गरिन्। उनले भनिन्, महिलाले आफ्ना प्रेमीलाई ‘प्रपोज’ गर्न धेरै समय पर्खनुपर्छ। त्यसपछि सेन्ट प्याट्रिकले यसै तारिखमा महिलाले ‘प्रपोज’ गर्ने दिन घोषणा गरेका थिए।
हुन त यस कथालाई इतिहासकारहरूले विवादित नै बताएका छन्, तर यो फेब्रुवरी २९ बारे सर्वाधिक लोकप्रिय कथामा पर्छ।
त्यस्तै, यसको अर्को कथा पनि उत्तिकै लोकप्रिय छ। स्कटल्यान्डकी महारानी मार्गरेटको आदेश थियो, ‘लिप इयर’मा जसले कुनै विवाहको प्रस्ताव अस्वीकार गर्छ, उसले जरिवाना तिर्नुपर्नेछ।
यो पनि कथा मात्रै हो कि? किनभने इतिहासकारका अनुसार जब ‘लिप इयर’को चलन सुरु भयो, रानी मार्गरेट त्यो बेला मात्र पाँच वर्षकी थिइन् र अझ धेरै टाढा नर्वेमा बसिरहेकी थिइन्।
केही इतिहासकारहरूले यो परम्परालाई १९ औँ शताब्दीमा लोकप्रिय भएको बताउँछन्।
अङ्ग्रेजी कानुनले यस दिनलाई चिन्दैन। अर्थात्, यस दिन जे गरे पनि कुनै कानुनले सजाय दिँदैन। त्यसैले पनि ‘असामान्य रूपमा’ यस दिन महिलाले ‘प्रपोज’ गर्न पाउने मानिन्थ्यो।
देशअनुसार परम्परा फरक
‘लिप इयर’मा फेब्रुवरी २९ कै दिन विवाह गर्नका लागि एउटा प्रार्थना लोकप्रिय मानिन्छ। नर्विचको आर्कडिकन भेनरेबल जान मक्फर्लानले लेखेको ‘पकेट प्रेयर्स अफ ब्लेसिङ’का आधारमा एक महिला पादरीले उक्त प्रार्थना लेखेकी थिइन्।
उक्त प्रार्थनाले फेब्रुवरी २९ लाई विशेष दिनका रूपमा व्याख्या गर्छ।
फेब्रुवरी २९ मा महिलाले ‘प्रपोज’ गर्ने परम्परा भने देशअनुसार फरक-फरक छन्। डेनमार्कमा भने फेब्रुवरी २९ मा नभई यही परम्परा फेब्रुवरी २४ मा प्रत्येक ‘लिप इयर’मा मान्ने चलन छ। यो परम्परा पनि जुलियस सिजारको समयको बताइन्छ।
उक्त दिन महिलाले गरेको ‘प्रपोज’ कुनै व्यक्तिले अस्वीकार गरे उक्त व्यक्तिले महिलालाई १२ जोडी पञ्जा दिनुपर्ने परम्परा छ।
त्यस्तै, फिनल्यान्डमा भने त्यसरी पञ्जा नभई आफ्नो स्कर्टको धागो दिने चलन छ।
यता ग्रीसमा भने फेब्रुवरी २९ लाई अशुभ मानिन्छ। यो दिन विशेषतः विवाह गर्न रुचाउँदैनन्। यस्तै परम्परा इटालीमा पनि छ। ‘लिप इयर’मा महिला अस्थिर हुन्छ भन्ने इटालियन उखान छ।
स्कटल्यान्डमा ‘लिप इयर’लाई गाईवस्तुका लागि अशुभ मानिन्छ।
‘लिप इयर’ मनाउन अमेरिकाको एन्थोनी सहरलाई यस दिनका राजधानी मानिन्छ। दुवै टेक्सास र न्यु मेक्सिको राज्यका एन्थोनी सहरमा ‘लिप इयर’का दिन जन्मेकाहरूका नाममा ‘बर्थ डे पार्टी’ मनाइन्छ।
‘लिप इयर’का अनौठा किस्सा
आयरल्यान्डमा पिटर एन्थोनी कियो सन् १९४० मा फेब्रुवरी २९ कै दिन जन्मेका थिए, उनका छोरा संयुक्त अधिराज्यमा सन् १९६४ मा फेब्रुवरी २९ कै दिन जन्मे र उनका नातिनी बेथानी वेल्थ पनि संयुक्त अधिराज्यमै सन् १९९६ मा फेब्रुवरी २९ कै दिन जन्मिन्।
गिनिस वल्र्ड रेकर्डका अनुसार यसरी तीन पुस्ता लगातार फेब्रुवरी २९ कै दिन जन्मेको यो एक मात्र प्रमाणित परिवार हो।
के हो ‘लिप इयर’?
सामान्य रूपमा सूर्यको एकपटक परिक्रमा गर्न पृथ्वीलाई ३६५ दिन लाग्छ भनिन्छ। तर खास ३६५ दिनसँगै ५ घण्टा ४८ मिनेट र ४५ सेकेन्ड थप लाग्छ। तर, ग्रेगोरियन क्यालेन्डर प्रणालीले ३६५ दिनलाई मात्र मान्छ।
यसरी प्रत्येक वर्ष ५ घण्टा ४८ मिनेट र ४५ सेकेन्ड जम्मा हुँदै गरेको मिलाउनका लागि प्रत्येक चार वर्षमा एक दिन थपिन्छ। त्यसलाई ‘लिप इयर’ भनिन्छ।
अर्थात् सामान्यतः ‘लिप इयर’ चार वर्षमा एकपटक आउँछ। अरू सबै वर्षमा जम्मा ३६५ दिन हुन्छ भने ‘लिप इयर’मा एक दिन थप हुन्छ, फेब्रुवरीमा २९ दिन।
सबै महिनाहरूमा ३० वा ३१ दिन हुन्छ, तर फेब्रुवरीमा मात्र २८ दिन र प्रत्येक ‘लिप इयर’मा २९ दिन हुन्छ। रोमका सम्राट जुलियस सिजारले पहिलोपटक ‘लिप इयर’को अवधारणा ईशापूर्व ४६ मा सुरु गरेको मानिन्छ।
फेब्रुवरीमै किन एक दिन थपियो भन्नेबारे एउटा रोचक कथा छ- पहिले रोम साम्राज्यका सम्राट जुलियस सिजारका समयमा फेब्रुवरीमा ३० दिन थियो र अगस्तमा मात्र २९ दिन।
यो कुरा उनीपछिका सम्राट सिजार अगस्तसलाई मन परेन। जुलियसको नामबाट आउने जुलाईमा ३१ दिन र अगस्तसका नामबाट आउने अगस्त महिनामा मात्र २९ दिन।
सम्राट अगस्तसले अनि अगस्त महिनाका लागि पनि केही दिन ताने, जुलाई जत्तिकै बनाउनका लागि। यस क्रममा बिचरा फेब्रुवरी महिनाका दिन घट्न पुग्यो।
चार वर्षमा आउँछ ‘लिप इयर’, तर त्यति मात्र होइन
सामान्यतः प्रत्येक चार वर्षमा ‘लिप इयर’ आउँछ। तर यति सजिलो छैन, ‘लिप इयर’को गणना। ग्रेगोरियन क्यालेन्डरअनुसार सन् २००० ‘लिप इयर’ हो, त्यस्तै सन् १६०० पनि हो, तर सन् १७००, सन् १८०० र सन् १९०० होइन।
यसमा अर्को गणितीय हिसाब पनि जोडिन्छ-जुन वर्षको सङ्ख्यालाई १०० ले भाग लगाउन सकिन्छ, तर ४०० ले भाग लगाउन सकिँदैन, त्यो ‘लिप इयर’ होइन।
पोप ग्रेगोरी १३ औँ र उनका ज्योतिषीहरूले पहिलोपटक सन् १५८२ मा ग्रेगोरियन क्यालेन्डर लागु गरेका थिए। त्यस बेला प्रत्येक ४०० वर्षमा तीनवटा ‘लिप इयर’ घटाउने भन्ने चलन थियो।एजेन्सीको सहयोगमा
























